
मंगलवार , फाल्गुण २४, २०७८
भैरहवा, २४ फागुन ।
‘सामाजिक न्याय र लैंगिक समानता : दिगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मंगलबार ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ । दिवसको अवसर पारेर रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले अपांगता भएका चार जना महिलालाई नगदसहित सम्मानपत्रबाट गरेको छ । श्रमसंग जोडिएका अपांगता भएका महिलालाई नगरपालिकाले मंगलबार भैरहवामा सम्मान गरेको छ । सम्मानित हुनेमा विमला घिमिरे, सुमित्रा गुरुङ, लक्ष्मी शर्मा भण्डारी र ऐश्वरीया खनाल रहेका छन् । आत्मनिर्भर महिलालाई थप प्रोत्साहन होस् भन्ने उद्देश्यले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर सम्मान गरिएको सिद्धार्थनगर नगरपालिकाले जनाएको छ ।
त्यस्तै दिवसको अवसर पारेर सिद्धार्थनगर नगरपालिका कार्यालय, रुपन्देहीको आयोजना तथा विभिन्न सरकारी कार्यालय, महिला तथा बाल अधिकार जिल्ला सञ्जाल रुपन्देही तथा गैरसरकारी संस्थाहरुको समन्यवमा भैरहवामा प्रभातफेरी कार्यक्रम गरिएको छ । बुद्धचोकबाट सुरु भएको प्रभातफेरी भैरहवा नमुना माध्यमिक विद्यालयमा पुगेर समारोहमा परिणत भएको थियो ।
समारोहमा बोल्दै प्रमुख अतिथि संविधानसभा सदस्य आदित्यनारायण कसौधनले महिलालाई शिक्षित बनाउनुपर्ने बताए । उनले महिला शिक्षित भए परिवार शिक्षित हुने बताए । उनले भने, ‘लैंगिक समानता भनेर मात्र हुँदैन, महिलालाई आर्थिक रुपमा सम्पन्न बनाउनुपर्छ । ’ महिलाप्रतिको दृष्टिकोण सकारात्मक बनाउनुपर्ने उनको भनाइ थियो ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले महिलामाथि हुने विभेद कम हुँदै गएको बताए । उनले महिलालाई हरेक ठाउँमा सम्मानको आवश्यकता रहेकोमा जोड दिए ।
सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्लेले ८ मार्चमा पर्ने अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको बारेमा महिलालाई बुझाउन नसकिएको बताइन् । उनले सोचमा परिवर्तन नआएसम्म समतामूलक समाज बन्न नसक्ने बताइन् । संघ–संस्थाको तर्फबाट बोल्दै इनरव्हील क्लब अफ लुम्बिनीका पूर्वअध्यक्ष सीता भट्टराईले महिला दिवस महिलाका लागि मात्र नभइ सबैका लागि भएको बताइन् ।
फाउण्ड परियोजना संयोजक राधा भट्टराईले घरबाहिर ननिस्केका महिलालाई बाहिर ल्याउन सक्नु पनि परिवर्तन भएको बताइन् । सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्लेको अध्यक्षता, शिक्षा शाखा अधिकृत जाह्नवी पाण्डेको स्वागत तथा माइती नेपालका क्षेत्रीय संयोजक माया क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij