२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

अन्तर्राष्ट्रिय श्रमिक दिवस : बुटवलमा तीनदिने कार्यक्रम

‘सामाजिक न्याय र समानताबाटै दिगो विकास’

मंगलवार , फाल्गुण २४, २०७८

बुटवल, २४ फागुन ।
‘सामाजिक न्याय र लैंगिक समानता, दिगो विकासको सुनिश्चितता’ भन्ने मुल नाराका साथ आज विश्वभर ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदैछ । दिवसकै अवसर पारेर बुटवल उपमहानगरपालिकाले विभिन्न तीन दिवसीय कार्यक्रम गरेको छ । 

वडास्तरमा सचेतना, अन्तरक्रिया तथा अन्तरसंवाद र आज दिवसका अवसर शुभकामना आदानप्रदान र दीप प्रज्वलनको आयोजना गरी तीन दिने कार्यक्रम समापन गरिँदैछ । दिवसको पूर्वसन्ध्यामा उपमहानगरमा सोमबार कार्यक्रम गरिएको छ । 
कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख शिवराज सुवेदीले हिंसामुक्त सहरको रणनीतिक कार्ययोजना कार्यान्वयनका लागि सबैको सहकार्य र सहभागिता जरुरी रहेको बताए । समानताको अधिकारका निम्ति संविधानमा भएका व्यवस्था कार्यान्वयन गर्न उपमहानगरले सामथ्र्यका आधारमा योजना तय गरेको उल्लेख गर्दै प्रमुख सुवेदीले कुनै पनि प्रकारका विभेद, हिंसा र ज्यादतिका घटनामा शून्य सहनशीलताका साथ कार्य गरिरहेको बताए । 

अधिकार उपभोगका लागि आन्तरिक कानुन बनाउने, कार्यविधि बनाउने, आवश्यक ऐन तथा नियमावली निर्माण गर्ने र महिला उत्थान समन्वय समिति गठन गर्नुका साथै बुटवलले तयार पारेको लैंगिक हिंसामुक्त सहरको रणनीतिक कार्ययोजना प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको भन्दै कार्यक्रममा सहभागी महिला अगुवाहरुले प्रशंसा गरेका थिए ।

साथै अधिकारको व्यवस्था भएपनि तिनको उपभोग गर्ने बारेमा र कार्यान्वयन गर्ने निकायका बारेमा पनि सचेतनाको खाँचो रहेको कार्यक्रमका सहभागीले औंल्याएका थिए । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर पूर्वसन्ध्यामा गरिएको लैंगिक हिंसाविरुद्धको अभियान, समानता, न्याय र महिला अधिकारका विषय तथा अधिकार उपभोगका सबाल विषयको अन्तरसंवाद एवं छलफल कार्यक्रममा सहभागी अधिकारकर्मीहरुले अधिकार र कर्तव्य पालनाका सन्दर्भमा बुटवलले नेतृत्वदायी भूमिका गरेको पनि उल्लेख गरे । 

उपप्रमुख तथा महिला उत्थान समन्वय समितिका संयोजक एवं दिवस कार्यक्रमका अध्यक्ष गुमादेवी आचार्यले नागरिक तथा राजनीतिक अधिकार प्राप्ति भए पनि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्राप्तिको लडाइँ बाँकी नै रहेको भन्दै बुटवलले बनाएको रणनीतिक कार्ययोजना साकार हुँदा ती विषय पनि सम्बोधन हुने बताइन् ।

बुटवल उपमहानगरमा श्रमिक महिला दिवसको सन्दर्भ, परिस्थिति र अबको चुनौति लगायतका विषयमा सामाजिक विकास महाशाखा प्रमुख तुलसा अर्यालले विस्तृत विवरण, हालसम्मको कार्यप्रगति लगायतका विषयमा कार्यपत्र प्रस्तुत गदै अन्तरक्रियामा छलफल गराएकी थिइन् ।

यस्तै बुटवल विद्वत् परिषद्का सदस्य तथा विश्लेषक इन्दिरा अर्यालले संवैधानिक अधिकार, अधिकार उपभोग, सरोकारवाला निकायको कर्तव्य र आर्थिक, सामाजिक अधिकारका विषय समेटेर अवधारणपत्र प्रस्तुत गरेकी थिइन् ।

कार्यस्थलमा महिलामाथि हुने हिंसा निवारणको लागि नीतिगत तथा व्यवहारिक अभ्यास भएको, सुत्केरी तथा गर्भवतीलाई पोषण सामग्री प्रदान, ल्याबमा निशुल्क सुविधा, सुत्केरी स्याहार विदाको व्यवस्था लगायतका प्रावधानले बुटवल उपमहानगरले गरेका अभियान प्रभावकारी रहेको पाइएको कार्यपत्र प्रस्तोत अर्यालले बताइन् ।

अनौपचारिक क्षेत्रको श्रमलाई कानूनी दायरामा ल्याउँदै उनीहरूबीच संगठन निर्माण गर्ने अभियान, महिला उद्यमशीलता विकास प्रवद्र्धन कार्यक्रम, गर्भवती तथा सुत्केरी भेट कार्यक्रम, मेयर युवा इलम कार्यक्रम सञ्चालन गर्नुका साथै महिलालक्षित सीपमूलक कार्यक्रम, स्वरोजगार प्रवद्र्धन, उद्यम विकास र सम्बद्र्धनका कार्यक्रमको सफल कार्यान्वयनले बुटवलले मुलुकमै अनुकरणीय काम गर्दै आएको भन्दै प्रशंसा भएको छ । 

275176589_269564038682800_1636562048718553535_n.jpg

कार्यक्रममा उपमहानगरका कार्यपालिका सदस्य तथा सामाजिक विकास समितिका संयोजक सीता थापा आचार्य, कार्यपालिका सदस्य विमला श्रेष्ठ, महिला उत्थान उपसमितिका सह-संयोजक ज्ञानु केसी, रामप्रसाद अर्याल लगायतले बोल्दै अधिकारसंगै कर्तव्यबोध गराउने अभियानको खाँचो रहेकोमा जोड दिएका थिए ।