२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

प्रदेश सरकार योजनाबद्ध विकासमा संकल्पित छ : मुख्यमन्त्री पोखरेल

शनिवार , कार्तिक ८, २०७७

भैरहवा, ८ कार्तिक ।

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा पुग्न प्रदेश सरकार योजनाबद्ध विकासमा संकल्पित रहेको बताएका छन् । उनले त्यसका लागि हामीले समृद्ध प्रदेश खुशी जनताको लक्ष्य अघि सारिएको बताए ।

शनिबार बडादशैंको शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले भनेका छन, समृद्ध प्रदेशका माध्यमबाट समृद्ध राष्ट्र निर्माण गर्ने महाअभियानमा यस प्रदेशका सबै राजनैतिक दल, समुदाय, संघ–संस्था र आम नागरिकमा हार्दिक अपील गर्दछु ।

‘संघीय शासन प्रणालीको मर्म अनुसार प्रदेशको नाम र राजधानीको टुंगो लगाएर हामी नयाँ विन्दुमा आएका छौं, जसले फराकिलो यात्राको ढोका खोलेको छ, उनले भने ।’ प्रदेशको नाम लुम्बिनी र राजधानी राप्ती उपत्यका हुँदा प्रदेशको साझा मनोविज्ञान तयार भएको मुख्यमन्त्री पोखरेलको भनाइ छ ।

‘राजनैतिक दलहरुको अगुवाइमा सबैको एकताबद्ध प्रयासले जनतालाई रैतीबाट नागरिक बनाएको संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत र बलियो हुँदै अघि बढेको छ, यतिखेर हामी संघीयताको व्यवहारिक कार्यान्वयनको चरणमा अघि बढिरहेका छौं । केही साता अघि प्रदेशको नाम र राजधानी टुंगो लगाउँदै सिंगो प्रदेशले अपनत्व गर्ने वातावरण बनाउन सफल भएका छौं, शुभकामना सन्देशमा उल्लेख छ ।

नेपालीहरुको सबैभन्दा ठूलो चाड भएकाले दशैंले सद्भाव, मेलमिलाप र भातृत्व व्यापक बनाउन झनै महत्वपूर्ण भूमिका खेल्दै आएको मुख्यमन्त्री पोखरेलको भनाइ छ ।

‘व्यक्ति, परिवार र समाजलाई एकताको मालामा जोड्ने दशैं पर्वको मौलिकता जोगाउन सक्नुपर्छ । पर्व विशेषको मौलिक संस्कृति हस्तान्तरण नयाँ पुस्ताका लागि महत्वपूर्ण उपहार हुन सक्छ । मौलिक पक्षलाई ख्याल गरेर पर्वलाई मनाउन हामी सबैले ध्यान दिऔं, जसले समाजलाई एकताको सुत्रमा बांध्न सकिन्छ, समाज एकताबद्ध हुँदा मुलुकको सार्वभौमसत्ता र अखण्डता बलियो हुन्छ, शुभकामना सन्देशमा भनिएको छ ।’

122444223_1433018530236768_590699718215715415_n.jpg