२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

रुपन्देही सुपर लिग : लुम्बिनी खुकुरी क्लब विजयी

शनिवार , फाल्गुण २१, २०७८

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • भैरहवा, २१ फागुन ।
    रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगको डिभिजन ‘ए’ अन्तर्गत शनिबारको खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबले प्रोफेसनल मास्टर्स–११ लाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै जित निकालेको छ ।

    सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर व्याटिङ गरेको प्रोफेसनलले निर्धातिर ५० ओभरको खेलमा २८.३ ओभरमा सबै विकेटको क्षतिमा जम्मा ९९ रन मात्र बनाउन सक्यो । उसका लागि प्रवेश थापाले ३७ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । उसलाई सस्तैमा रोक्न बलिङमा लुम्बिनी खुकुरीका लालबहादुर अधिकारीले १० ओभर बलिङ गर्दै ४ मेर्डन राखी २१ रन खर्चेर ५ विकेट लिए । यस्तै, धिरज शाहीले ३, दुर्गेश गुप्ता र अजयकुमार चौहानले समान १–१ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको लुम्बिनी खुकुरीले १५ ओभरमा विना क्षति एक सय रन बनाउँदै जित निकाल्यो । उसका लागि संदीप रजालीले नटआउट ६० र प्रज्ज्वल थापाले नटआउट ३४ रन बनाए । लुम्बिनी खुकुरीका लाल बहादुर अधिकारी म्यान अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे । आइतबार मेलवर्न क्रिकेट क्लब (एमसीसी) र देवदह क्रिकेट क्लबबीच प्रतिष्पर्धा हुनेछ ।

    चैत १२ गतेसम्म सञ्चालन हुने लिगको विजेताले ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार ट्रफी र प्रमाणपत्र, बेष्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीलाई ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने संघले जनाएको छ ।