शनिवार , फाल्गुण २१, २०७८
भैरहवा, २१ फागुन ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा वडा नम्बर २ मा रहेको शंकरनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था सुरक्षित खानेपानी वितरणमा मुलकमै सर्वोत्कृष्ट भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागले शंकरनगर खानेपानीलाई सुरक्षित खानेपानी सेवा प्रदान गरेकोमा सर्वोत्कृष्ट ठहर गर्दै प्रमाणपत्र प्रदान गरेको हो ।
विभागले प्रदान गरेको प्रमाणपत्र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुपन्देहीका प्रमुख गुणनिधी पोखरेलले खानेपानीका अध्यक्ष झविन्द्र भण्डारीलाई हस्तान्तरण गरे । विभागले मुलुकका दश वटा खानेपानी आयोजनाहरुमा जलवायु उत्थानशील खानेपानी सुरक्षा योजना लागू गरेकोमा ती आयोजनाहरुमध्ये शंकरनगर खानेपानीलाई वेसलाइन एसिस्मेन्टमा उच्चतम अंकसहित प्रथम भएको प्रमाणपत्र प्रदान गरेको हो ।
विभागले खानेपानीको दिगो व्यवस्थापन, व्यवस्थित तथा सुरक्षित खानेपानी वितरणमा शंकरनगर खानेपानीले उत्कृष्ट कार्य गरेको जनाएको छ । विभागले बर्दिवास-महोत्तरी, पाँचधारा-काठमाडौं, मानगढ-मोरङ, गजुरी-धादिङ, भादगाउँ करादी खिरखाँदी-तनहुँ, लेखनाथ-कास्की, प्रगतिनगर-नवलपरासी, शंकरनगर-रुपन्देही, सुर्खेत उपत्यका-सुर्खेत, अत्तरिया-कैलाली समेतका दश वटा शहरी खानेपानी आयोजनाहरुमा जलवायु उत्थानशील खानेपानी सुरक्षा योजना लागू गरेको छ ।
खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष झविन्द्र भण्डारीले आगामी दिनमा शंकरनगर खानेपानीको सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै संस्थाले सामाजिक उत्तरदायित्वको क्षेत्रमा समेत उत्तिकै महत्वपूर्ण काम गर्ने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij