
शुक्रवार , फाल्गुण २०, २०७८
बुटवल, २० फागुन ।
बुटवलको देवीनगरस्थित लनटेनिस कोर्टलाई अन्तर्राष्ट्रियस्तरको मापदण्ड बनाउन पूर्वाधार विकासको गर्न रुपन्देही लन टेनिस संघका पदाधिकारीहरुले प्रदेश खेलकुद परिषदबाट बजेट विनियोजन गर्न माग गरेका छन् ।
नवनियुक्त लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईलाई शुक्रबार कोर्टको निरीक्षण गराउने क्रममा थप पूर्वाधारमा आर्थिक सहयोगको माग संघका सचिव गोपाल ज्ञवालीले गरे । अहिलेसम्म संघ, स्थानीय र खेलाडीहरुको सहयोगमा ३ वटा कोर्ट चालू अवस्थामा सञ्चालन रहेको भन्दै २ वटा थपेर अन्तर्राष्ट्रियस्तरको खेल खेलाउने गरी विकास गर्न लक्ष्य रहेको उनले बताए । युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित लन टेनिस कोर्टमा नियमित बालबालिकाहरुलाई प्रशिक्षणसंगै राष्ट्रियस्तरको प्रतियोगिता गराएर खेलाडीहरुलाई प्लटफर्म दिने काम गरेको उनले दावी गरे । उमेर समूहमा नेपालको रेकिङमा रुपन्देहीका धेरै खेलाडीहरु पार्न सफल भएको भन्दै उनले आवश्यक थप सहयोगको लागि आग्रह गरेका हुन् । ‘हामी ५ वटा कोर्ट तयार गरेर अन्तर्राष्ट्रियस्तरको कोर्ट बनाउन चाहेको छौ ।’– उनले भने । यसमा १ करोड रुपैयाँ बजेटमा संरचना तयार हुने उनले बताए ।
कार्यक्रममा सदस्य सचिव जयप्रकाश भट्टराईले रुपन्देहीकै गहनाका रुपमा कोर्ट रहेको भन्दै आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए । रुपन्देही खेलकुदमा उर्वरभूमि भएको भन्दै आफनो पक्षबाट सक्दो सहयोग गर्ने बताए ।
सन् २०२२ मा प्रकाशित नयाँ क्यालेण्डरमा नेपालको रेकिङ अनुसार १२ वर्ष उमेर समुहमा रुपन्देहीका वृजेश अर्याल पहिलो नम्बरमा फड्को मारेका छन् । त्यसै गरी ९ वर्ष उमेर समूहमा तेस्रो नम्बरमा निश्चल ज्ञवाली सोही उमेर समहमा ४ नम्बरमा संघर्ष फौदार, १० वर्षमुनी उमेर समूहमा चौथो नम्बरमा बुटवलका सन्दिप जि.सी. परेका छन् । हाल देवीनगरस्थित सो स्थानमा ७ कठ्ठा क्षेत्रफलमा पूर्वाधार विकास भएको छ । प्रशिक्षक विकास खड्काले बालबालिकाहरुलाई बिहानसांझ नियमित प्रशिक्षण गराउँदै आएका छन् । करीब २ दर्जन खेलाडीहरु नियमित अभ्यास गर्दै आएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij