बुधवार , फाल्गुण १८, २०७८
रुपन्देही, १८ फागुन ।
नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीको ११ औं अधिवेशनले प्रेमप्रसाद खनालको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । समितिको खुला उपाध्यक्षमा थानेश्वर बस्याल र महिला उपाध्यक्षमा विष्णु खनाल पन्थी, सचिवमा जीवन पौडेल, सह–सचिवमा प्रदीप गिरी र कोषाध्यक्षमा पदमबहादुर थापा निर्वाचित भएका छन् ।
समितिको सदस्यहरुमा माधव प्रसाद बस्याल, भास्कर घिमिरे, योगराज पन्थी, गंगाप्रसाद पन्थी, राजकुमार मिश्र, गुणाखर पाण्डे, बुद्धिराम पराजुली, पार्वती पोखरेल, एलिना केसी, मालतीदेवी पौडेल, हर्कबहादुर बिक, राजेश यादव र कमल पन्थी रहेका छन् ।
दुईजना महिला सदस्य पछि थप गरिने आधिकारिक ट्रेड युनियनका केन्दीय सदस्य मेघदेव पन्तले जानकारी दिए । अधिवेशनले १८ प्रदेश तथा १० केन्द्रीय प्रतिनिधि निर्वाचित गरेको छ । यो संगठनमा रुपन्देहीमा १ हजार ३ सय जना कर्मचारी आवद्ध रहेका छन् ।
मंगलबार भएको उद्घाटन कार्यक्रममा नेकपा एमाले राष्ट्रियसभा सचेतक खिमलाल भट्टराईले कर्मचारी संगठनले आफ्ना अधिकारसँगै नागरिकको जिम्मेवारी र दायित्वलाई आत्मसाथ गरेर अगाडि बढ्न आग्रह गरेका थिए । उनले एमाले नेतृत्वको सरकारले सुरुवात गरेको विकास तथा समृद्धिका कार्यक्रमले देशलाई समृद्धिको बाटोमा डोराउन थाले पनि केही दलका स्वार्थी नेताहरुको लोभले देशलाई अस्थिरतातर्फ लगेको बताए । सरकारमै सहभागी दलहरुको स्वार्थ नमिल्दा अहिलेको भाडभैलो बाहिर आएको बताउँदै भट्टराईले जनताबाट अनुमोदन हुन डराउनेहरुले राजनीति गर्नुको कुनै अर्थ नभएको धारणा व्यक्त गरे ।
लुम्बिनी प्रदेशका प्रमुख सचिव डिल्लीराम शर्माले प्रादेशिक संरचना नयाँ भएकाले पनि धेरै काम प्रभावकारी हुन नसकेको स्वीकार गर्दै आवश्यक भन्दा बढी मन्त्रालय थपिएका कारण कर्मचारी अभावमा कार्यसम्पादन सन्तोषजनक नभएको बताए । उनले निजामती संघीय आयोग नबनेका कारण प्रदेश तथा स्थानीय सरकारमा कर्मचारी व्यवस्थापनको चुनौतीबारे तीनै तहका सरकारले ध्यान दिनुपर्ने बताए ।
आधिकारिक ट्रेड युनियनका केन्द्रीय सदस्य तथा प्रदेश संयोजक मेघदेव पन्तले सरकार परिवर्तनसँगै कर्मचारीलाई गरिएको अनावश्यक सरुवाले सरकारका काम प्रभावकारी बन्न नसकेको बताए । उनले कर्मचारीहरुलाई सरकारका गलत काममा खबरदारी गर्न आग्रह गर्दै राजनीतिक पूर्वाग्रहबाट गरिने विभेदविरुद्ध सधै लड्ने धारणा राखेका थिए । कार्यक्रममा कर्मचारी संगठनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष लेखनाथ कोइराला, उपाध्यक्षहरु भवानी दाहाल, दधिराम मरासिनी, महासचिव रेवन्त गौतम लगायतले आफ्नो धारणा राखेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij