बुधवार , फाल्गुण १८, २०७८
भैरहवा, १८ फागुन ।
भैरहवामा ५० करोड बढीको लगानीमा तीनतारे गौतमबुद्ध एयरपोर्ट होटल प्रा.लि. मंगलबारदेखि सञ्चालनमा आएको छ । जीवा लामिछाने, हरिबोल भण्डारी, गौरीराज जोशी र शिवभक्त पोखरेलको संयुक्त लगानीमा सञ्चालनमा आएको होटलमा थप लगानी गरी ४ तारेसम्म विस्तार गर्ने योजना रहेको छ ।
होटलमा ४४ वटा कोठा रहेको होटलका प्रोजेक्ट डाइरेक्टर देव कुमार खड्काले बताए । उनले फेमिली डिलक्स रुम, ट्विन रुम, किंग बेड भएको सुपर डिलक्स रुम र सुपरियर रुम रहेको जानकारी दिए । त्यस्तै स्विमिङ्ग पुल, फिट्नेश सेन्टर, सोना स्टिम र कन्फ्रेन्स हल रहेको उनले बताए । भविष्यमा थप २० करोड थपेर होटलमा क्यासिनो लगायतका सुविधा पनि उपलब्ध हुने खड्काको भनाइ छ । लुम्बिनी घुम्न आउने पर्यटकलाई लक्षित गरी अहिले होटलले आफ्नो गतिविधि अगाडी बढाएको उनले बताए । स्थानीयलाई लक्षित गरी होटलमा रहेको स्विमीङ्ग पुललाई दिउँसोमा सञ्चालन गरिने खड्काले जानकारी दिए । ‘आन्तरिक पर्यटकलाई फोकस गरिएको छ, ’उनले भने ।
ग्राहकहरुको लागि रेष्टुरेण्ट (बारसहितको रुफटप रेष्टरेण्ट र कमन रेष्टुरेण्ट), ओपन पुल साइड किचन, स्विमीङ पुल, सेमिनार हल, फिटनेस सेन्टर लगायत सुविधा रहेका छन् । बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणका लागि भारतबाट आउने पर्यटकका लागि होटलले आफ्नै गाडीमार्फत विस्तृत भ्रमण गराउनेछ ।
होटलका सञ्चालक शिवभक्त पोखरेलले होटललाई अपांगमैत्री बनाइएको बताए । होटलमा आउने अपांगता भएका व्यक्तिहरुको लागि प्रयोग हुने कोठा तथा शौचालयहरुलाई अपांगमैत्री बनाइएको उनले बताए ।
१० कठ्ठा क्षेत्रफलमा रहेको होटलमा हाल २५ जनाले रोजगारी पाएका छन् । पूर्ण रुपमा सञ्चालनमा आएपछि ४५ जनाले यहाँ रोजगारी पाउने होटलले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij