आइतवार , फाल्गुण १५, २०७८
बुटवल, १५ फागुन ।
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले आफ्नो पहिचान कायम राख्नको लागि संगठित हुनुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् । पोखरामा आइतबारदेखि सुरु भएको तीनदिने कार्यशालाको पहिलो दिनमा बोल्ने वक्ताहरुले तीनै तहका सरकारले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई हकअधिकार प्रदान गर्नको लागि सहयोग गर्नुपर्ने बताएका हुन् ।
यौनिक तथा लैंगिक अल्पसंख्यक महासंघ नेपालको आयोजनामा सुरु भएको समावेशी महिला संरक्षण र सुरक्षा एजेण्डामा युवा र यौन तथा लैंगिक अल्पसंख्यक समुदायको चिन्तनशील कार्यशालामा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्क बहादुर कमालले यो समुहले संगठित भएर लागेमा आफ्ना समस्याको बारेमा सरकारसंग छलफल भएमा निकास निस्कने बताएका छ्न । उनले पहिचान र अस्तित्वलाई स्विकार्ने समय आउने बताउँदै आफूले सक्दो पहल गर्ने बताए । उनले गण्डकी प्रदेशसहित अन्य क्षेत्रमा गएर काम गर्नको लागि पनि संगठित भएर लाग्नुपर्ने सुझाव दिए ।
यौन तथा लैंगिक अल्पसंख्यक महासंघ नेपालको आयोजना, ईन्टरनेशनल अलर्ट र युके एडको सहयोगमा सञ्चालित कार्यशालाको पहिलो दिनमा बोल्दै महासंघ नेपाल अध्यक्ष मनिषा ढकालले यही समुदाय भएकै कारणले धेरै समस्याहरु भोग्नुपरेको बताउदै समुदायका व्यक्तिहरुका अधिकार प्रदान गर्नको लागि लागिपरेको बताइन् ।
कार्यक्रममा बोल्दै ब्लू डाईमण्ड सोसाइटी (निल हिरा समाज) अध्यक्ष पिंकी गुरुङ, सोसाईटीकै भुमिका श्रेष्ठ लगायतले यस समुदायको हकअधिकार प्राप्त गर्नको लागि संगठित भइरहेको बताए । उनीहरुले यो समुदाय अझै पनि पछाडी परेको उल्लेख गर्दै आफ्नो पहिचान बनाउन लागिपरेको बताए ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका नीति तथ्यांक तथा अनुसन्धान शाखा प्रमुख प्रमुख गौरीशंकर पाण्डेको सहजीकरणमा कार्यशाला सञ्चालन भएको हो ।
कार्यशालामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा कार्यरत विभिन्न संघ–सस्थाका प्रतिनिधि, एलजीबीटीआई समुदायका व्यक्ति र पत्रकारहरुको सहभागिता रहेको छ । आइतबारदेखि सुरु भएको कार्यशाला फागुन १७ गते मंगलबारसम्म सञ्चालन हुने कार्यक्रम संयोजक सिम्रन शेरचनले जानकारी दिइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij