शनिवार , फाल्गुण १४, २०७८
रुपन्देही, १४ फागुन ।
विश्व शान्तिको कामना गर्दै बुद्ध जन्मस्थल लुम्बिनीमा शनिबार शान्ति दीप प्रज्ज्वलन गरिएको छ । रुसी आक्रमणका कारण युक्रेनमा भइरहेको युद्ध, हत्या, हिंसा र बमबारीले सिंगो संसार आक्रान्त भइरहेको भन्दै लुम्बिनीका स्थानीयवासीले एक सय आठ दीप प्रज्वलन र शान्ति प्रार्थना गरेका हुन् ।
लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा भेला भएका स्थानीय नागरिक, पर्यटन व्यवसायी तथा भिक्षु भिक्षुणीले युक्रेनमा भइरहेको भयानक युद्धको अन्त्य र सिंगो मानव जगतको रक्षाका लागि दीप प्रज्ज्वलन तथा शान्ति पाठ गरेको लुम्बिनीका पर्यटन व्यवसायी लिलामणि शर्माले जानकारी दिए ।
उनीहरुले हत्या, हिंसा र युद्धको स्थिति संसारभरबाट सदाका लागि अन्त्य होस् भन्ने कामना गरेका थिए । सो अवसरमा उनीहरुले रुस र युक्रेनवीच उत्पन्न तनावले संसारभरीका नागरिकहरु आक्रान्त भएको, अशान्ति छाएको र चिन्ता थपिएको भन्दै जारी युद्ध तत्काल अन्त्य गरी वार्ता र सम्वाद थाल्न आग्रह गरे । उनीहरुले यस्ता युद्ध तथा अशान्ति सिर्जना भएका मुलुकहरुकाबीच शान्ति वार्ता गर्न विश्व शान्तिको मुहान लुम्बिनी सवैभन्दा उपयुक्त स्थान हुने भएकाले शान्ति वार्ता र छलफलका लागि लुम्बिनी रोज्न विश्व समुदायलाई आग्रह गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij