शनिवार , फाल्गुण १४, २०७८
भैरहवा, १४ फागुन ।
लियो क्लब अफ प्रोग्रेसिभ सिद्धार्थनगरले भैरहवाको पाँच स्थानमा नेपालको राष्ट्रिय झण्डा राखेको छ । क्लबले बेलहिया, देवकोटा चोक, बुद्धचोक, लुम्बिनी गेट र एअरपोर्टमा झण्डा राखिएको कार्यक्रम संयोजक विवेक भण्डारीले बताए ।
क्लबले शनिबार बुद्धचोकमा राष्ट्रिय ध्वजोत्थान समारोहका कार्यक्रम गरी बुद्धचोकमा झण्डा राखी कार्यक्रमको शुभारम्भ गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रस्तावित लायन्स क्लब्स डिष्ट्रिक ३२५ (पी)का इलेक्ट डिष्ट्रिक गभर्नर नवराज न्यौपानेले क्लबको सानो प्रयास भए पनि यो ठूलो काम भएको बताउदै गर्वको महसुस भइरहेको बताए । न्यौपानेले राष्ट्रिय झण्डाले यस क्षेत्रका लायन्स लियोको शिर उचो बनाएको बताए । लायन्स लियोले छुट्टै पहिचान बनाएको छ, धेरै काम गर्दागर्दै ओझेलमा परेका छौं, गरेका कामहरुको प्रचारप्रसार गर्न सकेका छैनौं, उनले भने ।
वर्ष २०२२–२३ इतिहास रच्ने वर्ष भएको उनको भनाइ थियो । भैरहवाबासीले तेस्रो डिष्ट्रिक गभर्नर पाउँदै हुनुहुन्छ, उनले भने ।
लियो क्लब अफ प्रोग्रेसिभ सिद्धार्थनगरले राखेका झण्डा पुरानो भएका अवस्थामा झण्डा फेर्नका लागि लायन्स क्लब अफ सिद्धार्थनगरले सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।
लियो क्लब अफ प्रोग्रेसिभ सिद्धार्थनगरका संस्थापक अध्यक्ष कमल परियारले स्थापना कालदेखि नै क्लबले नयाँ सोच लिएर अगाडी बढेको बताए । उनले नगरमा खासै राष्ट्रिय झण्डा नदेखिएकाले राष्ट्रियताको भावनाका साथ झण्डा राखिएको बताए । उनले भने, ‘राखिएका झण्डाको हेरचाह यस क्षेत्रका नागरिक समाजले पनि गर्नुपर्छ, यो राष्ट्रिय सम्मानको कुरा हो ।’

कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपाने, उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवाली, लायन्स रिजन चेयरपर्सन ओम जैसी, सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का पूर्व वडाअध्यक्ष मिलन बस्नेत, लियो डिष्ट्रिक ३२५ (पी)का इलेक्ट डिष्ट्रिक प्रेसिडेन्ट एम.डी. न्यौपाने लगायतले बोल्दै सरकारी निकायबाट हुने काम क्लबले गरेको बताए । उनले आफूहरु क्लबसंग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए ।

लियो प्रोग्रेसिभ सिद्धार्थनगरका सचिव सुन्दर के.सी.को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
लियो प्रोग्रेसिभ सिद्धार्थनगरले उत्कृष्ट कार्य गरेको र यो कार्यमा सहयोग गर्ने सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का वडा सदस्य समेत रहेका लायन्स क्लब अफ सिद्धार्थनगरका कोषाध्यक्ष उमेश थापा मगरले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij