
बिहिवार , कार्तिक ६, २०७७
भैरहवा, ६ कार्तिक ।
भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (यूसीएमएस) शिक्षण अस्पतालले बिहीबारदेखि पीसीआर परीक्षण सेवा सुरु गरेको छ ।
यूसीएमएसले सर्वसाधारण नागरिकलाई कोभिड–१९ परीक्षण गर्न सहज होस् भन्ने उद्देश्यले पूर्ण रुपमा स्वचालित आर.टी. पीसीआर परीक्षण सेवा शुभारम्भ गरेको अस्पतालका जनसम्पर्क अधिकारी शुशिल गुरुङले बताए । उनले यो सेवा प्रदान गर्न विरामीको स्वास्थ्य सुरक्षालाई समेत मध्यनजर गर्दै अस्पताल हाता भन्दा बाहिर वायोसेफ्टी दोस्रो तहको प्रयोगशाला (बीएसएल ल्याब) समेत स्थापना गरिसकेको र जसको प्रारम्भिक परीक्षण समेत सफल भएको बताए ।
‘अमेरिकन प्रविधिमा आधारित यो मेशिनबाट दैनिक रुपमा दुई पटक रिपोर्ट दिने गरी अस्पतालबाहेक बाहिरी विरामीहरुको लागि बिहान ७ बजे र सांझ ४ बजे स्याम्पल संकलनको व्यवस्था मिलाइएको छ, यो प्रयोगशाला नेपाल सरकारको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मान्यता प्राप्त प्रयोगशाला हो, उनले भने ।’ बुधबार सांझसम्म अस्पतालमा १७९ जना कोरोना संक्रमित विरामी रहेको उनले जानकारी दिए । त्यस्तै ९९ जना निको भएर डिस्चार्ज भएको, १५ जनाको मृत्यु भएको उनले बताए । त्यसै गरी अस्पतालबाट ६६ प्रतिशत कोरोना संक्रमित निको भएको र ९.९ प्रतिशतको मृत्यु भएको गुरुङले बताए ।
पीसीआर परीक्षण स्थापनाको लागि अस्पतालले पीसीआर परीक्षणसहित भौतिक पूर्वाधारको लागि करिब १ करोड ६० लाख रुपैयाँ लगानी गरेको यूसीएमएसका प्रमुख प्रशासकीय अधिकृत अजय कुमार पी.एस.ले बताए । नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको परीक्षण शुल्क नै लागु गरिएको उनले बताए ।
पीसीआर परीक्षण सेवाको बिहीबार एक कार्यक्रमकाबीच रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले उद्घाटन गरे । सो अवसरमा बोल्दै प्रजिअ घिमिरेले विश्व नै कोभिड–१९ लाई परास्त गर्न नसकेको बताए । उनले दिनप्रतिदिन जोखिम बढ्दै गएको बताए । पछिल्ला दिनमा संक्रमण बढ्दै गएको उनले बताए । स्थानीय प्रशासनले कोभिड–१९ का विरुद्ध सहकार्य गर्दै अगाडी बढिरहेको उनको भनाइ छ । ‘अहिलेको अवस्थामा जनस्वास्थ्यका मापदण्डलाई पालना गर्नु नै उपयुक्त छ, यो बेला सेवा भावले प्रेरित भएर काम गर्नुपर्ने अवस्था छ, उनले भने ।’ रुपन्देहीमा थप एउटा पीसीआर परीक्षण सेवा सुरु हुनु खुशीको विषय भएको प्रजिअ घिमिरेले बताए ।
यूसीएमएसका मेडिकल सुपरीटेण्डेण्ट प्रा. डा. सदन मुखीले सामाजिक दुरी, मास्क र साबुनपानीले हात धुने कुरामा विशेष ध्यान दिनुपर्ने बताए । उनले पीसीआर परीक्षण सेवाले कोरोना भाइरसको संक्रमण पत्ता लगाउन थप मद्दत पुग्ने बताए ।
लुम्बिनी प्रेस क्लबका अध्यक्ष दिपेश पछाईले यूसीएमएसले थप सेवाहरु विस्तार गर्दै जानुपर्नेमा जोड दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij