२०८२, मंसिर ११ गते

Nov 27 2025 | २०८२, मंसिर ११ गते

जनप्रतिनिधिलाई अवसरसँगै चुनौती

बिहिवार , फाल्गुण १२, २०७८

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • बुटवल, १२ फागुन ।
    जनप्रतिनिधिहरुलाई नयाँ अनुभवसंगै चुनौतीहरु देखापरेको एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेशको आयोजनामा रुपन्देहीमा सम्पन्न सामुदायिक मेलमिलाप, अभ्यास र अनुभवहरु विषयक अन्तर नगरपालिका सिकाई कार्यशालामा सहभागी स्थानिय तहका जनप्रतिनिधिहरुले संघीयतासंगै स्थानीय पालिकामा निर्वाचित भएर स्थानिय सरकारको रुपमा काम गर्ने अवसरसंगै धेरै चुनौतीहरु सामना गर्नुपरेको उनीहरुको बताए । 

    कार्यशालामा संविधानविद् काशीराज दाहालले संघियता घोषणासंगै तीन तहको सरकारको कार्यान्वन अघि बढ्नु सुन्दर पक्ष भएको दावी गरे । लामो समयसम्म राजनीतिक अस्थिरताका कारण आवश्यक कानून बन्न नसक्दा जनताको चाहना गरे अनुसारको उपलब्धिहरु हासिल नहुनु दुःखद भएको उनले बताए । स्थानीय सरकार जनताको सबैभन्दा नजिकको पिरमर्का बुझ्ने सरकार भएको भन्दै उनीहरु धेरै संवेदनशील भएर कार्यसम्पादन गर्नुपर्ने बताए । न्यायिक समितिको नया अनुभवले जनप्रतिनिधिहरुलाई परिपक्व बनाउन मद्दत मिलेको उनको जिकिर थियो ।

    कार्यक्रममा नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले स्थानीय निर्वाचनको घोषणा भइसकेको वर्तमान अवस्थामा जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धि गर्न र गरिरहेका कामलाई दस्तावेजिकरण र अभिलेखिकरण गर्न कार्यशाला सहयोग सिद्ध हुने बताए । कार्यशालामा रुपन्देही जिल्लाका नगरपालिकाका सहभागी न्यायिक समितिका संयोजक, सदस्य र सहजकर्ताहरुले साना तिना झैझगडा र मुद्दाहरुलाई निरुपण गर्ने र सकेसम्म अदालतमा झैझगडा र मुद्दाहरुलाई घटाउने उद्देश्यका साथ गठन गरिएको न्यायिक समितिको अनुभव समेत आदानप्रदान गरिएको थियो ।

    कार्यशालामा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले समाज रुपान्तरणमा जनप्रतिनिधिहरुको भुमिका महत्वपूर्ण रहने बताए । बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्य, तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरी चौधरीले न्यायिक समितिमार्फत आईपरेको समस्या र समाधानका अनुभवहरु सुनाएका थिए । कार्यशालामा रुपन्देही जिल्लाका नगरपालिकाका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।