२०८२, मंसिर ११ गते

Nov 27 2025 | २०८२, मंसिर ११ गते

मर्चवारबासीको पीडा : व्यवस्था फेरियो, फेरिएन सडकको अवस्था

मंगलवार , फाल्गुण १०, २०७८

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • भैरहवा, १० फागुन ।
    साथीको जन्मदिन (बर्थ डे) पार्टीमा भैरहवा आउँदै गरेका रुपन्देहीको सम्मरीमाई गाउँपालिका–३ पिपरहवाका अरूण कुमार सहानी मायादेवी ७ बनगाईबाट घर फर्किनुपर्याे। भैरहवा आउँदै गर्दा मर्चवारको मुख्य सडकमा चिप्लिएर हिलाम्मे भएपछि उनी पार्टीमा जान नपाई बीच बाटोबाटै घर फर्कनु पर्याे।

    सम्मरीमाई–७ बस्ने अरबिन्द लोधको व्यथा पनि उस्तै छ। गत असारमा वडा नम्बर ३ भटौली जान निस्केका उनको मोटरसाइकलको इञ्जिन सम्मरीमाई–५ थुम्हवास्थित मुख्य बाटोमा बन्द भयो। सडकमा परेका ठूलाठूला खाल्डोमा मोटरसाइकल स्टार्ट बन्द हुँदा इञ्जिनमा पानी पसेर बिग्रिन पुग्यो।

    त्यस्तै छोरीको आँखा उपचारका लागि श्री लुम्बिनी रण अम्बिका शाह आँखा अस्पताल भैरहवा आउँदै गरेका मर्चवारी–३ का दीलिप बरई कोटहीमाई–७ परसहवा पुग्दा हिलोले छ्यापिए । विपरीत दिशामा गुडिरहेको पिकअप भ्यानले उनलाई छ्यापेका कारण उनी बीचबाटो बाटै घर फर्कन बाध्य भए। सडकमा जमेको पानीका कारण हिलाम्मे भएपछि कपडा फेर्नका लागि घर फर्केका उनलाई पुनः भैरहवा आईपुग्न दुई घण्टा भन्दा बढी समय लाग्यो।

    अरूण, अरविन्द र दीलिप त प्रतिनिधि पात्र मात्र हुन्। त्यहाँ समस्या न झेलेकाहरू भेट्न गाह्रो छ। जिल्लाको सदरमुकाम जोड्ने एक मात्र सडकको अवस्था जीर्ण भएपछि सर्वसाधारणको आवतजावतमा समस्या थपिएको हो। केही वर्षअघि गरिएको कालोपत्रे फुटेर दर्जन भन्दा बढी ठाउँमा खाल्डाखुल्डी परेका छन्। सहानीले भने, ‘भत्किएका र हिलाम्मे सडकमा जोखिम मोलेर भए पनि यात्रा गर्नुपर्ने बाध्यता छ।’

    सहानीले साथीको बर्थडे पार्टीमा सहभागि हुन आफ्नो गाउँ पिपरहवादेखि २६ किलोमीटर टाढाको जिल्ला सदरमुकाम भैरहवा आइरहँदा करिब २० किलोमीटर बाटो कटिसकेका थिए। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकै अस्थायी मर्चवार बाटोमा पुगेपछि हिलोमा उनको मोटरसाइकल चिप्लिएको थियो। मोटरसाइकल चिप्लिएर हिलोमा लडेपछि हिलाम्मे भएका कारण घर फर्केको बताए।

    गत भदौ ११ गते दानवनदीको बाढीले बगाएर सम्मरीमाई–३ भटौलीमा एक बालकको मृत्यु भएको घटना हेर्न जाँदै गरेका अरविन्द लोध थुम्हवा (पाण्डे डिह) पुगेपछि पानीले भरिएर नदेखिने गरी मुख्य सडकमा रहेको गहिरो खाल्डोमा मोटरसाइकल परेपछि स्टार्ट बन्द भएको थियो । ‘धकेलेर बल्लतल्ल मोटरसाइकल त निकालियो,’ उनले भने, ‘तर इञ्जिन आयलमा पानी पसेर डोहोर्याउँदै लैजानुपर्याे।’ पछि इञ्जिन बनाउन पाँच हजार खर्चिनुपरेको उनले बताए।

    दीलिप बरईको व्यथा पनि उस्तै छ। माघ २१ गते आफ्ना ५ वर्षीय छोरी दिव्यांशीलाई मोटरसाइकलमा राखेर आँखाको उपचारका लागि भैरहवा जाँदै गर्दा कोटहीमाई–७ परसहवा चोकमा विपरीत दिशाबाट आउँदै गरेको पीकअप भ्यानले जिउभरी हिलोपानीले छ्यापेको थियो। घर फर्केर नुहाइधुवाइ गर्दा दुई घण्टा भन्दा बढी समय लाग्यो। भैरहवा पुग्दा डाक्टर भेट्न नसकेपछि छोरीको उपचार नै नगरी घर फर्कनु परेको उनले बताए।

    त्यति मात्र होइन, यसअघि उनी सडकमा रहेको खाल्डोकै कारण दुर्घटनामा परेको बताए। भैरहवाबाट रायपुर जाँदै गर्दा मंसिर १८ गते मर्चवारी–३ स्थित मुख्य सडकमा रहेको खाल्डोमा परी उनले चलाइरहेको मोटरसाइकल जम्प गरेर लडेपछि उनी घाइते भएका थिए। सो दुर्घटनामा उनको दाहिने हात भाँचिएको थियो भने उनी चढेको लु ६३ प ४००६ नम्बरको मोटरसाइकलमा क्षति पुगेको थियो।

    हिलो र धुलो सडकको पहिचान जस्तै बनेको छ। रूपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको दुरावस्थाले त्यहाँका जनप्रतिनिधिलाई गिज्याईरहेको छ। सडकहरू ठाउँठाउँमा भत्केका छन्। खाल्डाखुल्डी परेको सडक मर्मतसम्भारको अभावमा मर्चवारबासीले सास्ती खेपिरहेका छन्। यात्रा गर्दा दर्जनौं दुर्घटनाको जोखिममा परेका छन्।

    खाल्डाखुल्डी र भत्किएका सडकका कारण सवारी यात्रा निकै कष्टप्रद छ। ‘यात्रुहरूले ठूलै जोखिम मोलेर यात्रा गरिरहनु परेको छ,’ सम्मरीमाई–६ का अवधेश विश्वकर्मा भन्छन्, ‘परिवर्तनका लागि देशको सम्पूर्ण आन्दोलनमा प्रभावकारी भूमिका खेलेको यो क्षेत्रमा राणाकाल, पञ्चायती प्रजातन्त्र, बहुदलीय व्यवस्था हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्म पनि अवस्था ज्यूँका त्यूँ छ।’ विश्वकर्माले भने, ‘व्यवस्था फेरियो तर मुहार फेरिएन।’

    तीन गाउँपालिकासहित मायादेवीको वडा नम्बर ५, ६ र ७ जोडिएको यो क्षेत्रमा एउटा मात्र प्राथमिक स्वास्थ्य केन्द्र छ, तर विशेषज्ञ चिकित्सक (डाक्टर) कमै मात्र बस्छन्। यो क्षेत्रका १५ स्वास्थ्य चौकी र पाँच आधारभूत स्वास्थ्य सेवा केन्द्रले प्रभावकारी सेवा दिन सकेका छैनन्। आकस्मिक घटना–दुर्घटना निम्तिए खाल्डाखुल्डी सडककै कारण सदरमुकाम भैरहवास्थित सुविधासम्पन्न अस्पताल पुर्याउन ढिलो हुन्छ। जसका कारण कतिपयको समयमा उपचार नपाएर ज्यान जाने गरेको छ।

    झण्डै २ सय वर्ग किमी क्षेत्रफलमा फैलिएको मर्चवारमा सवा लाख भन्दा बढी मानिसको बसोबास छ। यो क्षेत्रले २०१४ साउन ११ देखि कात्तिक १४ सम्मा डा. केआई सिंहलाई प्रतिनिधिको रूपमा प्रधानमन्त्री, त्यसपछि दीपक बोहरा, निरञ्जन थापा र सर्वेन्द्रनाथ शुक्ललाई मन्त्रीको रूपमा पटकपटक पायो। यति मात्र होइन मर्चवारमा नेपाल राष्ट्र बैंकको गभर्नर र सर्वोच्च अदालतको प्रधानन्यायाधीश लगायत सपूत पनि जन्मेहुर्केको यथार्थ छ।

    लुम्बिनी प्रदेशमै अन्नको भकारी मानिने मर्चवार क्षेत्रमा न राम्रो सडक छ, न सुविधासम्पन्न अस्पताल न त भरपर्दो बिजुली पानीको व्यवस्था। यहाँ फेरिएको जनप्रतिनिधिका जीवनशैली र नफेरिएको जनताको जीवनस्तरले भन्छ, ‘के यो विकास हो ?’ स्थानीयले सधै यस्तै प्रश्न गरिरहेका छन्।

    सडक पूर्वाधार भरपर्दो नभएकै कारण सुगम जिल्लाको मर्चवार क्षेत्र दुर्गम भएको भन्दै सामुदायिक विपद् व्यवस्थापन समिति राष्ट्रिय सञ्जालका अध्यक्ष जगन्नाथ प्रसाद कुर्मी भन्छन्, ‘सडकको हालत उस्तै रहिरहनुमा यस क्षेत्रबाट जो–जो गाउँपालिका अध्यक्ष, सांसद र मन्त्री बन्नुभयो, उहाँहरूको पनि कमजोरी हो,’ कुर्मीले भने, ‘सडक नेताहरूको प्राथमिकतामा परेकै छैन।’ यस क्षेत्रबाट चुनिएका जनप्रतिनिधिको उदासिनताका कारण सडक स्तरोन्नति नभएको उनको भनाइ छ।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले मायादेवी–७ बनगाईमा मर्चवार सडकको केही भाग अधिग्रहण गरेपछि अर्को स्थायी सडक समयमा नबनाइदिँदा र माथिल्लो तहका सरकारले निर्माण थालेको बेथरी–खैरा सडक योजना निर्माण सम्पन्न नहुँदासम्मका लागि समस्या जटिल बन्दै गएको नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य बाबुलाल यादवले बताए। उनले भने, ‘बेथरी–खैरा फोरलेन सडक विस्तारको क्रममा छ, निर्माण सम्पन्न भएपछि मर्चवारमा पनि विकास देखिने निश्चित छ।’

    लुम्बिनी प्रदेश सरकारका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री तथा रूपन्देहीको निर्वाचन क्षेत्र नम्बर ४ (ख) मर्चवारबाट निर्वाचित प्रदेशसभा सदस्य वसिउद्दीन खाँ भन्छन्, ‘भर्खर मात्र मन्त्री बनेको हुँ, मर्चवारमा शिक्षा सडक र सिँचाई लगायत भौतिक पूर्वाधार क्षेत्रमा आधा अर्ब भन्दा बढी बजेट पनि मेरै पालोमा र मेरै प्रयासमा प्रदेश सरकारमार्फत विनियोजन भएको छ।’ अगामी बजेटमा मर्चवारको विकासका लागि प्रतिबद्ध रही प्रयाप्त बजेट बिनियोजन गर्ने उनले बताए।

    उनले भने, ‘रमवापुर–दुइमोहान सडक स्तरोन्नतिका लागि १६ करोड छुट्याइएको छ भने भुँवरी–दुइमोहान जोड्न तिनाउ नदीमा पुल निर्माणका लागि २२ करोड तथा मर्चवार लिफ्ट सिँचाईका लागि १ करोड ९० लाख बजेट विनियोजन भएको छ।’ मर्चवार आदर्श बहुमुखी क्याम्पसको लागि ७३ लाख छुट्याइएको मन्त्री खाँले बताए। अन्य विभिन्न योजना निर्माणका लागि पनि बजेट निकासा भएको बताउँदै उनले भने, ‘अब मर्चवारको विकासले कोल्टे फेर्ने निश्चत छ।’