२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

आफन्तबाटै अपहरित बालबालिका उद्दार गर्ने प्रहरी टिम पुरस्कृत

मंगलवार , फाल्गुण १०, २०७८

भैरहवा, १० फागुन ।
रुपन्देहीबाट अपहरणमा परेका बालबालिकाको सकुशल उद्दार गरी अपहरणमा संलग्न व्यक्तिलाई पक्राउ गर्न सफल भएको भन्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोज कुमार के.सी.सहित संलग्न प्रहरी टिम पुरस्कृत भएको छ । उत्कृष्ट कार्य गरेको भन्दै लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, तुल्सीपुरले रुपन्देही प्रमुख के.सी.सहित १३ जना प्रहरीलाई नगदसहित पुरस्कृत गरेको हो । 

पुरस्कत हुनेमा प्रहरी नायव उपरीक्षक ठग बहादुर के.सी., प्रहरी निरीक्षक जीवन लामिछाने, भाष्कर चन्द, बाबुराम बस्नेत, प्रहरी नायब निरीक्षक बेगम खनाल, प्रहरी सहायक निरीक्षक मिलन जि.सी., मनिष थापा, राज कुमार वि.क., प्रहरी हवलदार बिर बहादुर खड्का, कृष्ण बहादुर कार्की, राम सकिल अहिर र प्रहरी जवान सागर कोदार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) नवरत्न पौडेलले बताए ।

गत फागुन ५ गते बिहान साढे ९ बजे जिल्लाको सैनामैना नगरपालिका–६ दुधराधस्थित घरबाट सैनामैना नगरपालिका–४ बुद्धनगरस्थित प्रभात बोर्डिङ स्कूलमा पढ्न गएका दुईजना बालबालिका अपहरणमा परेका थिए ।

रुपन्देही प्रहरीका अनुसार उक्त विद्यालयको लु १ ख ६५८६ नम्बरको बसमा गएका १२ वर्षिय प्रसिद्ध दाहाल र ९ वर्षिय प्रसन्न दाहाललाई सैनामैना–५ का ३५ वर्षिय खेम बहादुर पौडेलले अपहरण गरी बिर्तामोड पुर्याएका थिए । अपहरण गरी लैजादै गरेको अवस्थामा बिर्तामोडस्थित बसपार्कमा ईलाका प्रहरी कार्यालय अनारमनी, झापाको सहयोगमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले फागुन ६ गते बालबालिकालाई उद्दार गरी खेम बहादुर पौडेललाई पक्राउ गरेको थियो ।

पारिवारिक रिसिबीका कारण भतिजा–भतिजीलाई फूपाजुले अपहरण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको रुपन्देही प्रहरी प्रमुख मनोज कुमार केसीले बताए ।