२०८२, श्रावण २१ गते

Aug 06 2025 | २०८२, श्रावण २१ गते

भानु माविको ४६ औं वार्षिक उत्सव

सोमवार , फाल्गुण ९, २०७८

भैरहवा, ९  फागुन ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ मा रहेको भानु माध्यमिक विद्यालयको ४६ औं वार्षिक उत्सव तथा अभिभावक भेला एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको प्राङगणमा आयोजित वार्षिक उत्सव कार्यक्रममा कक्षागत उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरी मनाइएको छ ।

कोरोना महामारी कायम नै रहेकोले शिक्षक, विद्यालय व्यवस्थापन समितिको सदस्य, शिक्षक अभिभावक संघका सदस्य, सल्लाहकार र सीमित विद्यार्थीको उपस्थितिमा मनाइएको विद्यालयको प्रधानाध्यापक मोतीलाल सुवेदीले बताए । विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्र.अ.सुवेदीले यस पटकको वार्षिक उत्सवमा कक्षागत उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरी मनाइएको र स्थिति सामान्य भएपछि विद्यालयमा स्थापित विभिन्न अक्षयकोष छात्रवृत्ति वितरण, सम्मान तथा अतिरिक्त क्रियाकलाप सञ्चालन लगायतको कार्यक्रम गरिने बताए । उनले आगामी शैक्षिक सत्रदेखि गरीब विपन्न विद्यार्थीहरुलाई लक्षित गर्दै अंग्रेजी माध्यममा समेत प्राथमिक कक्षाहरु सञ्चालन गरिने बताए ।

कार्यक्रममा वडा अध्यक्ष शेषकान्त भण्डारी, रुपन्देही क्याम्पसका क्याम्पस प्रमुख पार्थिवेन्द्र उपाध्याय, विद्यालय व्यवस्थापनको सल्लाहकार श्याम सुन्दर खनाल, शिक्षक अभिभावक संघका अध्यक्ष बाबुराम भट्टराई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा विद्यालयमा सरुवा भइ आएका र विभिन्न कोटामा छनौट भइ कार्यरत शिक्षकहरुलाई स्वागत समेत गरिएको छ ।

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष फैज अहमद खानले शैक्षिक विकासका लागि आफूले स्थापना गरेको छात्रवृति अक्षयकोष बढाउने र विद्यालयलाई २५ हजार सहयोग गर्ने प्रतिवद्धता जनाउँदै अरुलाई पनि विद्यालयको स्तरवृद्धि गर्न तत्पर भएर लाग्न आग्रह गरे ।

नगरमा कानुन बिषय अध्ययन अध्यापन हुने एक मात्र यस विद्यालयमा हाल ७ सय ४३ विद्यार्थी अध्यनरत रहेका छन् भने ३२ जना शिक्षक तथा कर्मचारीहरु कार्यरत रहेका छन् । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष फैज अहमद खानको अध्यक्षता, सहायक प्र.अ. महेश प्रसाद गुप्तको स्वागत मन्तव्य तथा सहायक प्र.अ. पवित्रा कोइरालाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।