
आइतवार , फाल्गुण ८, २०७८
झापा, ८ फागुन ।
राष्ट्रिय जनगणना २०७८ ले आफूहरुलाई नसमेटेको भन्दै सीमान्तकृत लैंगिक तथा यौनिक अल्पसंख्यक (तेस्रो लिंगी तथा समलिंगी) समुदायका नागरिकले आपत्ति जनाएका छन् । झापाको बिर्तामोडमा शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै पछिल्लो जनगणनामा नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० रहेको भए पनि आफूहरु नसमेटिएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् । सरकारले सीमान्तकृत लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका नागरिकलाई नागरिक सरहको व्यवहार नगरेको भन्दै सरकारसँग उनीहरुले ११ बुँदे माग समेत अघि सारेका छन् ।
सीमान्तकृत लैंगिक तथा यौनिक अल्पसंख्यक (तेस्रो लिंगी तथा समलिंगी) समुदायका नागरिकले आफ्ना ११ बुँदे माग सम्बोधनका लागि सरकार तथा राजनीतिक दलको ध्यानाकर्षण गराएका छन् । सम्वाद समूह झापाको संयोजनमा पत्रकार सम्मेलनको आयोजना गर्दै सीमान्तकृत लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको संस्था लीड नेपालकी नुमा सुब्बा चञ्चलाले आफ्नो समुदायका समस्या सम्बोधनका लागि तीनै तहका सरकार र राजनीतिक दललाई आग्रह गरिन् । उनले समस्या समाधानमा पहल गरिदिन अधिकारकर्मी, नागरिक समाज, विभिन्न संघसंस्था तथा निजी क्षेत्रको पनि ध्यानाकर्षण गराएकी छन् । सीमान्तकृत लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका नागरिकले अघि सारेका ११ बुँदे मागमा सीमान्तकृत लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायमाथि हुने सबै खाले विभेदको अन्त्य गरी महिला, पुरुषसरह सम्मानजनक रुपमा बाँच्न पाउने संवैधानिक अधिकार व्यवहारमा सुनिश्चित गरिनुपर्ने, लुकेर बसेका सीमान्तकृत लैंगिक तथा यौनिक अल्पसंख्यकलाई आफ्नो अस्तित्व र पहिचान दिलाएर स्वतन्त्र जीवन जीउन सक्ने वातावरण सिर्जना गरिनुपर्ने रहेका छन् ।
विद्यालयमा हुने विभेद र अपमान अन्त्य गरी अन्य विद्यार्थी सरह सम्मानजनक रुपमा पठनपाठनका लागि व्यवस्था गरिनुपर्नेलगायत मागअघि सारिएको छ । नेपाल सरकार स्वास्थ्य बीमा बोर्डबाट गरिँदै आएको स्वास्थ्य बीमा कार्यक्रमबाट सीमान्तकृत लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका नागरिक वञ्चित रहँदै आएकाले तत्काल स्वास्थ्य बीमा कार्यक्रममा समावेश गर्ने व्यवस्था मिलाउन सीमान्तकृत लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको संस्था उनले माग गरिन् ।
झापामा मात्रै करिब १८ देखि २० हजारको संख्यामा सीमान्तकृत लैंगिक तथा यौनिक अल्पसंख्यक रहेको लीड नेपालकी कार्यक्रम संयोजक चञ्चलाले बताइन् । देशभर ८ लाखको संख्यामा सीमान्तकृत लैगिक तथा यौनिक अल्पसंख्यक सम्पर्कमा रहेको र यो संख्या कैयौँ गुणा बढी रहेको नीलहिरा समाजकी आनिक राना मगर बताउँछिन् । “यतिका संख्यामा हाम्रो उपस्थिति रहँदारहँदै पनि सरकारले हामीलाई जनगणनामा समावेश गर्न नसक्नु हाम्रो दुर्भाग्य हो”, मगरले भनिन् ।
पत्रकार सम्मेलनमा केही समय अघि समलिंगी विवाह गरेका झापा बुद्धशान्तिका अनिल कोइराला र मेचीनगरका सुरज खत्रीले उमेर पुगेर मन मिलेर विवाह गरे पनि आफूहरुलाई परिवार र समाजले साथ नदिएको दुःखेसो पोखे । नवविवाहित समलिंगी जोडीले आफ्नो जोडीलाई परिवार र समाजले साथ दिनुपर्ने बताए । हाल आफूहरु विभेद र हिंसाको शिकार भएको उनीहरुको भनाइ थियो । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij