शुक्रवार , फाल्गुण ६, २०७८
मान्म, ६ फागुन ।
कालिकोटमा १८ हजार ११५ मतदाता थपिएका छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा ६४ हजार ९६१ मतदाता रहेकामा हाल जिल्लाको मतदाता संख्या थपिएर ८३ हजार ७६ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
कालिकोटको मतदाता संख्याको अद्यावधि गरेर निर्वाचन आयोगलाई पठाइएको र मतदाता संख्यामा वृद्धि भएको कार्यालयका सूचना अधिकारी लक्ष्मणबहादुर शाहीले बताए । जिल्लाका ९ स्थानीय तहमध्ये सबैभन्दा बढी मतदाता नरहरिनाथ गाउँपालिका र सबैभन्दा कम महावै गाउँपालिकामा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
नरहरिनाथ गाउँपालिकाको मतदाता सङ्ख्या १२ हजार ८१७ र महावै गाउँपालिकाको पाँच हजार ५४८ रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख धनबहादुुर मल्लले जानकारी दिए । कार्यालय प्रमुख मल्लका अनुसार खाँडाचक्र नगरपालिकामा ११ हजार ५७७, रास्कोट नगरपालिकामा १० हजार ५३६ र तिलागुफा नगरपालिकामा १० हजार २६ मतदाता रहेका छन् ।
त्यस्तै पलाँता गाउँपालिकामा आठ हजार १७७, पचालझरना गाउँपालिकामा सात हजार ५०४, शुभकालिका गाउँपालिका ९ हजार २८ र सान्नी त्रिवेणी गाउँपालिकामा सात हजार १९३ मतदाताको संख्या रहेको निर्वाचन कार्यालय प्रमुख मल्लले जानकारी दिए । ८३ हजार ७६ मतदाता संख्यामध्ये ४३ हजार १३८ पुरुष र ३९ हजार ९३८ महिला मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij