२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

लायन्समा चुनावी सरगर्मी

द्वितीय गभर्नर पदका उम्मेदवार बालाराम भट्टराईको प्रतिवद्धता सार्वजनिक 

शुक्रवार , फाल्गुण ६, २०७८

तिलोत्तमा, ६ फागुन ।
लायन्स जिल्ला परिषद् ३२५ बी २ को दशौ अधिवेशनको समय नजिकिदै जाँदा यतिबेला लायन्समा चुनावी सरगर्मी बढेको छ । लायन्स जिल्ला ३२५ बी बहु विभाजित भइ बनेको प्रस्तावित जिल्ला ३२५ पी को नेतृत्वको लागि विभिन्न पदमा उम्मेदवारी दर्ता गरेका उम्मेदवारहरुले यतिबेला विभिन्न कार्यक्रमको आयोजना गरी मतको लागि अपिल गरिरहेका छन् ।

उम्मेदवारहरुले विभिन्न कार्यक्रमको आयोजना गर्दै लायन्सको प्रस्तावित जिल्ला पी को लागि आफ्ना उम्मेदवारीसँगै आफ्ना प्रतिवद्धताहरु पनि सार्वजनिक गरिरहेका छन् । लायन्स जिल्ला ३२५ पी का द्वितीय गभर्नर पदका उम्मेदवार पीएमजेएफ डायमन्ड स्टार बालाराम भट्टराईले रुपन्देहीको मणिग्राममा बिहीबार एक कार्यक्रमको आयोजना गरी आफ्ना चुनावी प्रतिवद्धताहरु सार्वजनिक गरेका छन् ।

लायन्स क्लब अफ रुपन्देहीका पूर्व अध्यक्ष समेत रहेका भट्टराईले प्रतिवद्धताहरु सार्वजनिक गर्दै लायन्स वर्ष २०२२/०२३ को लागि द्वितीय गभर्नर पदमा आफुलाई हुन्छ भन्ने मतका साथ विजयी बनाउन मतदाताहरुलाई अपिल गरेका छन् । कार्यक्रममा बोल्दै उनले पछिल्लो समय लायन्समा लायन्सवादको भावनलाई कुल्चेर भाइचारा बिगार्ने प्रयास भइरहेको बताए । उनले भने, ‘लायन्सहरुलाई एकताको सुत्रमा बाधेर समाजसेवामा जोड्नको लागि मेरो उम्मेदवारी रहेकोले मलाई द्वितीय गभर्नर पदमा हुन्छ भन्ने पूर्ण मतका साथ विजयी बनाउनु हुनेछ ।’

लायन्स मल्टिपल डिष्ट्रिक ३२५ का डायमन्ड स्टार समेत रहेका भट्टराईले लायन्सवादमा व्यक्तिको भन्दा पनि विधिको शासन स्थापित गर्नको लागि आफ्नो उम्मेदवारी रहने बताए । लायन्समा विधिको शासन भन्दा पनि व्यक्ति प्रधान भएकोले समस्या निम्तिएको उल्लेख गर्दै विधिको शासनको स्थापना गर्नको लागि पनि आफूलाई मतदान गर्न अनुरोध गरेका छन् ।

भट्टराईले लायन्स जिल्ला पी मा रहेका हरेक लायन्स क्लबलाई एक लायन्स एक परियोजनाको अभियानको थालनी गर्ने, परियोजनाको लागी प्रस्तावना लेखनसम्बन्धी विभिन्न तालिम संचालन गर्ने, लायन्स नेतृत्वलाई उनीहरुको योग्यताको आधारमा जिम्मेवारी प्रदान गर्ने, बुटवलमा आंशिक रुपमा संचालनमा रहेको लायन्स शवदाह गृहलाई प्रविधियुक्त बनाउने, लायन्स जिल्ला पी अन्तर्गत पायक पर्ने क्षेत्रमा लायन्स अस्पतालको स्थापना गर्ने लगाायतका प्रतिवद्धताहरु सार्वजनिक गरेका छन् । 

लायन्स क्लब अफ रुपन्देहीका अध्यक्ष राम प्रसाद पौडेलको अध्यक्षता, सस्थापक अध्यक्ष मोतीराज ज्ञवालीको उपस्थितिमा भएको कार्यक्रममा विभिन्न लायन्स क्लबका अध्यक्षहरुले शुभकामना दिएका थिए ।

यही फागुन ७ गते चितवनमा सम्पन्न हुने लायन्स जिल्ला ३२५ बी २ को जिल्ला अधिवेशनबाट प्रस्तावित जिल्ला ३२५ पी को नेतृत्वको लागि तीन पदमा ७ जनाले उम्मेदवारी दिएका छन् । लायन्स जिल्ला ३२५ पी को नेतृत्वको लागी जिल्ला गभर्नर पदमा लायन्स जिल्ला ३२५ बी २ का चिफ डिष्ट्रिक एड्भाइजर उमंग देवकोटा, द्वितीय भाइस डिष्ट्रिक गभर्नर नवराज न्यौपानेले उम्मेदवारी दिएका छन । 

त्यस्तै प्रथम भाइस डिष्ट्रिक गभर्नर पदमा अर्जुनमान सैजुको एकल उम्मेदवारी परेको छ भने द्वितीय भाइस गभर्नर पदमा बालाराम भट्टराई, कुश कुमार मल्ली, पुरुषोत्तम भक्त प्रधानाङ्ग र सुशिल प्रधानले उम्मेदवारी दिएका छन् ।