
शव व्यवस्थापनको जिम्मादेखि निःशुल्क पीसीआर परीक्षणसम्म
मंगलवार , कार्तिक ४, २०७७
तिलोत्तमा, ४ कार्तिक ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएका नगरबासीको शव व्यवस्थापनको जिम्मा नगरपालिकाले नै लिने निर्णय गरेको छ ।
कार्यवाहक नगरप्रमुख जगेश्वरदेवी चौधरीको अध्यक्षतामा मंगलबार बिहान बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले कोरोना संक्रमणबाट मृत्यु भएका नगरबासीको शव व्यवस्थापन नगरपालिका आफैले गर्ने निर्णय गरेको हो । यसअघि शव व्यवस्थापनको काम सम्बन्धित पालिकाको सहयोगमा नेपाली सेनाले गर्दै आएको थियो ।
शव व्यवस्थापन जिम्मेवारीबाट संघीय सरकार पछि हटेपछि तिलोत्तमा नगरपालिकाले त्यसको जिम्मेवारी लिएको हो । बैठकले शव व्यवस्थापनको आवश्यक तयारी गर्न स्वास्थ्य शाखालाई जिम्मेवारी दिएको छ । तिलोत्तमामा मंगलबारसम्म कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । हालसम्म तिलोत्तमाका ७२६ जनालाई कोरोना संक्रमण भएकोमा ३९३ जनाले स्वास्थ्य लाभ गरिसकेका छन् भने ३२५ जना सक्रिय संक्रमित छन् ।
बैठकले कन्ट्रयाक्ट ट्रेसिङमा परेका नगरबासीको पहिलो पटकको परीक्षण समेत निःशुल्क गर्ने निर्णय गरेको छ । संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङमा परेर लक्षण देखिएकाहरुको नगरपालिकाको खर्चमा पीसीआर परीक्षण गर्न सरकारी प्रयोगशालासँग सम्झौता गर्ने निर्णय बैठकले गरेको हो । संघीय सरकारले सबैको पीसीआर परीक्षण समेत निःशुल्क नगर्ने निर्णय सार्वजनिक गरिरहँदा तिलोत्तमा नगर सरकारले त्यसको जिम्मेवारी समेत आफैंले लिने निर्णय गरेको हो ।
त्यस्तै नगरपालिकाले शंकरनगर आइसोलेशन सेन्टरमा अक्सिजन सिलिन्डरको संख्या थप गर्ने निर्णय समेत गरेको छ । कोरोना संक्रमितले अक्सिजनको अभावमा मृत्युवरण गर्न परिरहेका खबर आइरहँदा तिलोत्तमाले आइसोलेशनमा अक्सिजन सिलिन्डरको संख्या ६ बाट २० पु¥याउने निर्णय गरेको हो । हाल आइसोलेशनको क्षमता ४० बेड रहेकोमा बेडको संख्या पनि बढाउने निर्णय सिसिएमसी बैठकले गरेको कार्यवाहक नगर प्रमुख चौधरीले जानकारी दिइन् ।
हाल तिलोत्तमाको आइसोलेसनमा अन्य पालिकाबाट जाँच भइ आएका २२ जना संक्रमति छन् । बैठकले संक्रमितहरुलाई स्वास्थ्य लाभको कामना गर्दै घर–घरमा आयुर्वेदिक जडिबुटी पु¥याउने कार्यक्रमलाई निरन्तर दिने निर्णय समेत गरेको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए ।
बैठकमा प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्माले कोरोना महामारी सुरु भएपछि संघीय सरकारबाट संक्रमण रोकथाम, उपचार तथा राहतको लागि २ लाख र प्रदेश सरकारबाट १५ लाख रुपैंयाँ नगरपालिकाको खातामा आएको जानकारी दिए ।
बैठकले दसैं–तिहार पर्वमा बाहिरी जिल्ला तथा भारत एवं तेस्रो मुलुकबाट नगरपालिकामा आउने नगरबासीलाई स्वास्थ्य प्रोटोकललाई ख्याल राख्दै सिधैं समाजमा घुलमिल नहुन आग्रह गरेको छ । साथैं बैठकले कोरोना संक्रमितहरुको शिघ्र स्वास्थ्य लाभको कामना सहित मृत्यु भएकाको चीर शान्ति एवं शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij