images

शुक्रवार, बैशाख २१ गते २०८१

लुम्बिनी सरकारमा होला त आलोपालो ? 

लुम्बिनी सरकारमा होला त आलोपालो ? 

images
images
images
बिहिवार, माघ २० २०७८
बिहिवार, माघ २० २०७८
  • लुम्बिनी सरकारमा होला त आलोपालो ? 

    बुटवल, २० माघ । 
    लुम्बिनी प्रदेशमा २०७८ साउन २८ गते गठबन्धनको सरकार गठन भयो । नेकपा एमाले नेतृत्वको सरकार बहिर्गमनपछि पाँचदलीय गठबन्धनले सरकार चलाएको झण्डै ६ महिना भएको छ । गत साउन २८ गते एमाले नेतृत्वको सरकार ढालेर नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता कुल प्रसाद केसीको नेतृत्वमा गठबन्धनको सरकार बन्यो । शंकर पोखरेल नेतृत्वको सरकार विधि, पद्धति र संविधान कुल्चेर मनमौजी रुपमा चलेको गठबन्धनको आरोप थियो ।

    images
    images
    images

    गठबन्धनमा नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा छ्न । कांग्रेसले सरकार गठनमा आलोपालोमा सरकार सञ्चालन गर्ने भद्र सहमतिका आधारमा तयार भएको सरकारले मुख्यमन्त्री परिवर्तन लगायतका कुराहरुमा चर्चा सुरु भएको छ ।

    सरकार गठनको समयमा माओवादी र कांग्रेसबीच आधा आधा कार्यकाल आलोपालोमा सरकार गठन गर्ने भद्र सहमति भएको थियो । प्रदेशसभाको कार्यकाल २०७९ मंसिरसम्म रहेको छ । सहमति अनुसार लुम्बिनीको नेतृत्व परिवर्तन फागनु १५ सम्म हुनेछ ।
    सत्तारुढ गठबन्धनबीच यसअघि भएको भद्र सहमति अनुसार फेरि सरकारको नेतृत्व परिवर्तन गर्ने समय आइसकेको छ । नेपाली कांग्रेसका संसदीय दलका नेता विरेन्द्र कनौडिया अब बन्ने मुख्यमन्त्री हुन् । कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता विरेन्द्र कुमार कनौडिया तत्कालीन समयमा गरेको भद्र सहमतिकै आधारमा सरकारको नेतृत्व परिवर्तन हुनेमा कटिबद्ध रहेको बताउँछन् ।

    सरकार गठनमा आलोपालोमा सरकार सञ्चालन गर्ने भद्र सहमति भएकाले मध्य फागु्नमा सरकार फेरिने उनी बताउँछन् । कांग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक फखरुद्दीन खानले सरकार आलोपालो गर्ने भद्र सहमति भएकाले त्यो कार्यान्वयन हुने बताए ।
    ‘राजनीति भनेको इमान्दारिता पनि हो, त्यतिखेरको भद्र सहमति नै सरकार आलोपालो गर्ने भन्ने हो, मध्य फागुनमा कांग्रेसको नेतृत्वमा सरकार बन्छ’ उनले भने । अन्तिम निर्णय भनेकै केन्द्रको रहने भए पनि सम्झौताको कार्यान्वयनको लागि आफूहरु लागिपरेको उनी बताउँछन् । १६ महिनामा आधाआधा कार्यकालको भद्र सहमति भएको उनी बताउँछन् ।

    यद्यपि, कांग्रेसले गठबन्धनमा आलोपालो गर्ने कुरा गरेको भए पनि तत्काल सरकार फेरिने सम्भावना नभएको माओवादी नेताहरुको भनाइ छ । सरकारका प्रवक्ता तिलकराम शर्माले राष्ट्रिय राजनीतिसँग जोडिएको विषय भएकाले तत्काल सरकार फेरिने सम्भावना नभएको बताए । ‘यो विषय राष्ट्रिय राजनीतिसँग जोडिएको छ, त्यसैले प्रदेशमा कुरा उठ्दैमा सरकार फेरिँदैन,’ उनले भने ।

    आलोपालो अन्योलमै

    सरकार गठनको समयमा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच आधा आधा कार्यकाल गर्ने गरी सहमति भएपनि यतिबेला आलोपालो हुने या नहुनेमा अन्यौलता देखिएको छ । प्रदेश समिति गठन भए पनि अन्तिम निर्णय केन्द्रबाट नै हुने भएकोले दुवै दलले केन्द्रकै निर्णय कुर्नुपर्ने अवस्था छ । कुनै पनि दलका प्रदेश समिति नरहेको बेलामा भएका पार्टीका महाधिवेशनबाट आएका प्रदेश नेतृत्वले यो निर्णय गर्ने अधिकार पाउने छन् वा छैनन् हेर्न बाँकी छ । 

    कार्यकाल रहँदै राजधानी सार्ने मुख्यमन्त्री केसीको योजना

    मुख्यमन्त्री केसी र निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलकै जोडबलमा दाङको भालुवाङ क्षेत्रमा लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको थियो । केसी मुुख्यमन्त्रीको सपथ लिएलगत्तै सबैभन्दा बढी जोडबल स्थायी राजधानीमा मन्त्रालयहरु लैजाने रहेको देखिन्छ । यसअघि गुरुयोजना अनुसार पूर्वाधार निर्माण गरेर मात्रै स्थायी राजधानीबाट सेवा सुरु गर्ने सरकारी योजना हो । तर, मुख्यमन्त्री केसीले अस्थायी संरचनामै भए पनि मन्त्रालयहरु लैजान कर्मचारीहरुलाई निर्देशन दिँदै आएका छन् ।

    कांग्रेस र माओवादीले आलोपालो सरकार सञ्चालन गर्ने सहमति गरेकाले पनि मध्य फागुनसम्मै स्थायी राजधानीमा जान मुख्यमन्त्री केसी हतारिएको हुन  सक्ने नेताहरुको भनाइ छ।

    अघिल्लो सरकारकै पालामा पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालय स्थायी राजधानीमा लगिएको छ । तर, त्यहाँबाट काम गर्न नसक्ने भएपछि कर्मचारीहरु समेत बुटवल नै फर्किएका थिए । कांग्रेसबाट मन्त्री भएका डिल्ली बहादुर चौधरीलाई राजधानी व्यवस्थापनका लागि समेत विशेष जिम्मेवारी दिइएको छ । त्यसो त केसीले आफ्नो सम्पर्क कार्यालय समेत खोलेका छन् स्थायी राजधानीमा । कोरोना महामारीको बेलामा नागरिकको जीवन रक्षा गर्नुपर्ने बेलामा समेत मुख्यमन्त्री केसीले स्थायी राजधानीमा मन्त्रालयहरु सार्नका लागि छलफल जारी नै राखेका छन् । दाङको लालमटियास्थित राप्ती प्रादेशिक शिक्षालयमा अस्थायी रुपमा मन्त्रालय लगेर भए पनि काम गर्न आतुर देखिएका छन् उनी ।

    सत्तारुढ दल कांग्रेस संसदीय दलका नेता फखरुद्दीन खान गठबन्धन दल कांग्रेस, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीबाट मन्त्री भएकाहरु पूर्वाधार बिना स्थायी राजधानीमा जान नसक्ने बताइरहेका छन् । तर, बिहीबार मात्रै पनि मुख्यमन्त्री केसीले राप्ती प्राविधिक शिक्षालय फागुन १२ गतेभित्र सार्न निर्देशन दिएका छन् । ‘मुख्यमन्त्रीज्यूको ध्यान जनताको काममा भन्दा पनि राजधानीमै बढी केन्द्रीत देखिन्छ,’ माओवादीकै एक नेताले भने, ‘पार्टीमा पनि पर्याप्त छलफल भएको छैन ।’

    सदनमा एमालेको लगातार अवरोध

    विपक्षी दल एमालेले गठबन्धनको सरकार बने लगत्तैदेखि सदनमा निरन्तर अवरोध गर्दै आएको छ । सूर्य चिन्हबाट सांसद भएका अजय शाही र विमला कुमारी खत्रीलाई कारवाहीको माग गर्दै भदौ १ गतेदेखि एमालेले सदनमा अवरोध कायम गरेको छ ।

    सरकारले यो अवधिमा बाध्यकारी अवस्थामा वाहेक अन्य बेला संसद् चलाउन सकेन । भदौ १ गतेदेखिं हालसम्म १२ पटक बैठक बोलाइयो । ती सबै बैठक एमालेले अवरुद्ध गरेको थियो । लुम्बिनी प्रदेश संसदीय दलका उपनेता बैजनाथ चौधरीले आफुहरुले सरकारको दावी नगरेको बताउँदै परिवर्तन हुनु वा नहुनुसंग आफूहरुको माग सम्बन्धित नरहेको उल्लेख गरे । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij