२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

सिंगो बुटवल : एक विद्यालय अवधारणा लागू हुँदै

बिहिवार , माघ २०, २०७८

बुटवल, २० माघ ।
शिक्षाको केन्द्रलाई साकार पार्ने गरी रुपन्देहीको बुटवल उपमहानगरपालिकाले मुलुकमै नौलो अवधारणा ल्याएको छ । उपमहानगरका रहेका सबै विद्यालयको शैक्षिक गुणस्तर उकास्ने र सबैमा समान शिक्षा लागू गर्ने उद्देश्यले सिंगो बुटवल एक विद्यालयको नौलो अवधारणा ल्याइएको छ । यो अवधारणाअन्तर्गत अब सुगम वा दुर्गमका आधारमा, राम्रो र नराम्रो नतिजाका आधारमा, पोशाकका आधारमा, अब्बल र काम चलाउन शिक्षकका आधारमा कुनै पनि विद्यालयको शैक्षिक अवस्था कमजोर हुनेछैन । 

सबैमा भौतिक पूर्वाधार र दक्ष जनशक्तिको प्रबन्ध गर्दै, एकैखालको पोशाकको व्यवस्था गर्दै शैक्षिक गुणस्तर वृद्धिको अभियान सञ्चालन गरिनेछ । अब अब्बल शिक्षक कुनै एउटा मात्रै विद्यालयमा फूलटाइम होइन नगरका आवश्यक पर्ने सबै विद्यालयमा पुगेर उक्त विषयमा पठनपाठन गराउनुपर्ने छ । यसले शिक्षाको गुणस्तर विकासलाई प्रभावकारी बनाउने उपमहानगरका प्रमुख शिवराज सुवेदीको दावी छ । 

यसैक्रममा बुटवलका सामुदायिक विद्यालयमा विज्ञान र कम्प्युटर प्रयोगशाला निर्माण भएका छन् । करीब १ करोड ५० हजार बराबरको लगानीमा विभिन्न विद्यालयहरुमा विज्ञान प्रयोगशाला र कम्प्युटर तथा सूचना प्रविधि प्रयोगशालाको निर्माण गरिएको छ भने कतिपय विद्यालयमा नयाँ भवन समेत निर्माण भएका छन् । 

सामूदायिक विद्यालयको शैक्षिक गुणस्तर मूल्यांकनमा मुलुकमै प्रथम रहेको बुटवल उपमहानगरले यहाँका समुदायिक विद्यालयको शिक्षालाई ‘सिंगो बुटवल एक विद्यालय’ को अवधारणाका साथ नयाँ कार्यक्रम सुरु गरेको छ । सोही अवधारणाअन्तर्गत अहिले शैक्षिक गुणस्तर विकासका कार्यलाई अगाडि बढाइएको उपमहानगरका प्रमुख सुवेदीले बताए ।

शैक्षिक गुणस्तरको विकासबाटै दक्ष जनशक्ति उत्पादन हुने र दक्ष जनशक्तिबाटै सबल आर्थिक केन्द्र समुन्नत बुटवलको माध्यमबाट समृद्ध बुटवल निर्माणको लक्ष्य साकार पार्न सहज हुने प्रमुख सुवेदीको भनाइ छ । 

उपमहानगरका विभिन्न सामूदायिक विद्यालयहरुमा निर्माण भएका नयाँ भवन, विज्ञान प्रयोगशाला र कम्प्युटर ल्याबहरुको विद्यालयहरुमा आयोजित संक्षिप्त समारोहबीच उपप्रमुख तथा अनुगमन समितिका संयोजक गुमादेवी आचार्यले उद्घाटन गरेकी छन् ।

शुभारम्भ समारोहमा बोल्दै उपप्रमुख आचार्यले व्यवहारिक, जीवनपयोगी र अब्बल शिक्षाका माध्यमबाट विभेदरहित समाज निर्माणमा जुट्ने जनशक्तिको उत्पादन हुने उल्लेख गरिन् । ल्याब तथा प्रयोगशालाको प्रभावकारी सदुपयोग गर्दै नयाँ नयाँ आविष्कारका क्षेत्रमा पनि चासो बढाउन विद्यार्थीहरुलाई उनले सुझाव दिइन् ।

नयाँ भवन र नयाँ प्रयोगशाला

बुटवल माविमा, कम्प्यूटर तथा सूचना प्रविधि व्यवस्थापनका लागि छ लाख ५० हजार, उजिरसिंह माविमा कम्प्युटर अर्थात् सूचना प्रविधि प्रयोगशालाका लागि उपमहानगरमार्फत राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको समेत गरी २५ लाख रुपैयाँ विनियोजन भएको थियो ।

लक्ष्मी मावि, नयाँगाउँ मावि. मोतिपुर मावि,.भवानी मावि., अमर माविमा विज्ञान प्रयोगशाला र कम्प्यूटर तथा सूचना प्रविधि व्यवस्थापन कक्ष सञ्चालन भएका छन् । यसका लागि प्रति विद्यालय ६ लाख ५० हजारका दरले बजेट विनियोजन भएको थियो । सोही कार्यक्रमअन्तर्गत निर्माण भएका प्रयोगशालाको उपमहानगरका उपप्रमुख आचार्यले उद्घाटन गरेकी हुन् । 

त्यस्तै बुटवलकै जितेश्वरी माविमा नयाँ भवन समेत निर्माण भएको छ । ३० लाख बराबरको लगानीमा निर्माण भएको उक्त भवनको पनि हालै एक संक्षिप्त समारोहबीच उपप्रमुख आचार्यले उद्घाटन गरिन् ।

बुटवल–१८ स्थित मोतिपुरमा रहेको अमर माविमा कम्प्युटर ल्याब, बुटवल–१८ स्थित रहेको भवानी माविमा कम्प्युटर ल्याब र दुईकोठे नयाँ भवन निर्माण भएका छन् भने, बुटवल–१७ स्थित मोतिपुर माविमा व्यवस्थित विज्ञान प्रयोगशाला अर्थात् साइन्स ल्याब निर्माण भएका छन् । यो यस क्षेत्रकै नमुना विद्यालय मानिन्छ । विज्ञान प्रयोगशालामा विज्ञान विषयका लागि आवश्यक पर्ने उपकरणको व्यवस्था गरिएको छ । 

त्यस्तै बुटवल–१२ स्थित नयाँगाउँ मावि र बुटवल–४ स्थित लक्ष्मी माविसहित विभिन्न ७ वटा माविमा प्रतिविद्यालय ६ लाख ५० हजार बराबरको लगानीमा विज्ञान तथा आइसीटी सूचना प्रविधि (कम्प्युटर) प्रयोगशाला निर्माण भएको उपमहानगरका शिक्षा शाखा प्रमुख टिकाराम पन्थीले जानकारी दिए ।

यसका साथै विभिन्न सामुदायिक विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम र अन्य विभिन्न कार्यक्रमअन्तर्गत नयाँ भवन निर्माण, विस्तार र ल्याब निर्माण भएका छन् । बुटवल जितेश्वरी माविमा ३० लाख बजेटमा नयाँ भवन निर्माण भएको छ । उक्त विद्यालयमा नयाँ ल्याब पनि निर्माण भएको छ । उजिरसिंह माविमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत करिब २५ लाख बराबरको लगानीमा कम्प्यूटर प्रयोगशाला निर्माण भएको शाखा प्रमुख पन्थीको भनाइ छ । 

मोतिपुर माविमा विज्ञान प्रयोगशाला

बुटवल उपमहानगरपालिका वडा नम्बर १७ स्थित मोतिपुर माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना गरिएको छ । कक्षा ९ र १० का विद्यार्थीलाई विज्ञान विषयको शैद्धान्तिकसँगै व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यसहित प्रयोगशाला स्थापना गरिएको हो । 

उपमहानगरपालिकाका उपप्रमुख आचार्यले प्रयोगशालाको उद्घाटन गर्दै सदुपयोग र नयाँनयाँ खोजमा केन्द्रित हुन विद्यार्थीहरुलाई आग्रह गरिन् । विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञान प्रदान गर्नको लागि नगरमा रहेका सामुदायिक विद्यालयमा विज्ञान र कम्प्युटर ल्याब सञ्चालनमा ल्याइएको उपप्रमुख आचार्यको भनाइ छ । उपमहानगरमा रहेका ३८ वटै सामुदायिक विद्यालयमा नयाँ अवधारणाका साथ शैक्षिक विकासका कार्यक्रम सञ्चालन गरिएका छन् । 

मोतीपुर माविमा भएको कार्यक्रममा वडा नम्बर १७ का अध्यक्ष सन्तबहादुर रानाले विद्यालयको भौंतिक तथा शैक्षिक सुधारको लागि नगरपालिकाले सहयोग गर्दै आएको बताए ।

मोतिपुर माविका प्रधानाध्यापक लक्ष्मण मरासिनीले विद्यालयमा अहिले ७ सय २५ विद्यार्थी रहेको जानकारी दिँदै नगरबाट प्राप्त ६ लाख ५० हजार बजेटबाट बिज्ञान प्रयोगशाला सञ्चालन गरिएको र आवश्यकता आधारमा विस्तार गर्दै जाने जानकारी दिए ।

कक्षा १२ सम्म अध्ययन हुँदै आएको विद्यालयमा कक्षा ९ र १० का विद्यार्थीलाई लक्षित गरी प्रयोगशाला सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रसिंह थापाले बताए । विद्यालयमा अहिले ५ वटा भवन र २७ वटा कक्षा कोठा रहेका छन् । पछिल्लो समयमा विद्यालयमा विद्यार्थीको चाप वृद्धि हुँदै गएको बताउँदै विद्यालयका प्रधानाध्यापक मरासिनीले अझै ६ वटा कक्षाकोठाको अभाव भएकाले थप गर्न उपमहानगर लगायतका सरोकारवालासंग आग्रह गरिएको बताए ।

भवानी माविको नयाँ भवन उद्घाटन  

यस्तै बुटवल–१८ सौराहामा रहेको भवानी माध्यमिक विद्यालयको दुईकोठे भवनको उपप्रमुख गुमादेवी आचार्यले उद्घाटन गरेकी छन् । त्यसक्रममा उनले शिक्षाको गुणस्तर सुधारसँगै विद्यालयको भौंतिक सुधारको लागि नगरले जोड दिएको बताइन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल नेपालले स्थानीय जनप्रतिनिध आएपछि विद्यालयको भौतिक संरचना निर्माण, शिक्षक तलब र शिक्षाको गुणस्तरमा सुधार आएकोे दावी गरे । उनले सिंगो बुटवल, एक विद्यालय अवधारणा लागू भएकाले अब शैक्षिक र भौंतिक रूपमा पछि नपर्ने अपेक्षा लिएको बताए ।

विद्यालयका प्रधानाध्यापक मञ्जु घिमिरेका अनुुसार सानो झुपडीबाट सुरू भएको विद्यालय अहिले आधुनिक भवन निर्माण गर्दै शिक्षा प्रदान गर्दै आएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत १८ लाख बजेटमा दुईकोठे भवन निर्माण गरिएको प्रधानाध्यापक घिमिरेको भनाइ थियो । उक्त कार्यक्रमको सहजीकरण सहायक प्रधानाध्यापक भरत अधिकारीले गरेका थिए ।

बुटवलमा मदरसासहित ३८ वटा सामुदायिक, समुदायस्तरमा सञ्चालित ५ वटा बालविकास केन्द्र सञ्चालनमा रहेका छन् । त्यस्तै बुटवलमा मात्रै संस्थागत विद्यालयको संख्या ५७ रहेको छ । यी सबै विद्यालयमा करीब ५८ हजार विद्यार्थीहरुले पठनपाठन गर्दै आएका छन् ।