२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

किन पटकपटक बिग्रन्छ बुद्धचोकको ट्राफिक लाईट ?

शुक्रवार , माघ १४, २०७८

भैरहवा, १४ माघ । भैरहवाको बुद्धचोकमा रहेको ट्राफिक लाईटमा समस्या आएको छ । जडान भएको दुई महिना नहुँदै ट्राफिक लाईटमा समस्या आएको हो ।

दैनिक जसो २/३ घण्टा बिग्रिने गरेको यो लाईट पछिल्लो समय ३ दिनदेखि बिग्रिएको छ । लगातार ३ दिनदेखि बिग्रिएको लाईट बन्न नसक्दा यात्रालाई निकै समस्या आएको छ । भैरहवाका दुई स्थानमा जडान गरिएको लाईटको १९ मंसिर २०७८ मा उद्घाटन गरिएको थियो ।

कहिले बल्ने, कहिले नबल्ने गर्दा सवारीचालक तथा पैदल यात्रुहरु झुक्किने गरेको र यसले दुर्घटना निम्त्याउने डर बढेको स्थानीय पत्रकार विवेक विश्वकर्माको बुझाइ छ । ‘ट्राफिक लाईटलाई ध्यानमा दिएर आएका हुन्छौ, पत्रकार विश्वकर्माले खबरपात्रोसंग भने, ‘लाईट नजिक पुग्दा धिपधिप बलेको देख्दा अधिकांश झुक्किएका हुन्छौ, यसले दुर्घटना न्युनीकरण गर्ला भन्दा झनै बढाउने देखियो ।’

सिद्धार्थनगर नगरपालिकाले भैरहवाको बुद्धचोक र देवकोटा चोकमा जडान गर्न ३९ लाख ३८ हजार ४९५ रुपैया २२ पैसामा टेण्डर सम्झौता गरेको थियो ।

काठमाण्डौको क्युसेरा ईन्टरनेश्नल प्रा.लि.ले ट्राफिक लाईट जडानको जिम्मा पाएको थियो । क्युसेराले पहिलो बिलको भुक्तानीवापत करिब २५ लाख रुपैयाँ लगेको तथा बाँकी रकम बुद्धचोकमा जडान गरिएको लाईटमा समस्या आएका कारण रोकिएको नगरपालिकाका सव इञ्जिनियर चेतनारायण ज्ञवालीले जनाए ।   

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक केशव के.सी.ले बुद्धचोकमा जडान गरिएको ट्राफिक लाईट जडान गरिएको केही समयपछि देखि नै समस्या आउने गरेको बताए ।

उनले बुद्धचोकको लाईटमा पटकपटक समस्या आएको बताउँदै यसले ट्राफिक व्यवस्थापनमा समेत अप्ठ्यारो पारेको बताए । ‘बुद्धचोकमा रहेको ट्राफिक लाईट बिग्रिएर हैरान छ, प्रहरी निरीक्षक केसीले भने, ‘यसले ट्राफिक प्रहरीलाई समेत समस्यामा पारेको छ ।

भैरहवाको बुद्धचोकमा बिग्रिएको ट्राफिक लाईट
भैरहवाको बुद्धचोकमा बिग्रिएको ट्राफिक लाईट 

सम्झौता अनुरुप एक वर्षसम्म ट्राफिक लाईट बिग्रिएमा त्यसको बनाउने जिम्मा लाईट जडान गरेको कम्पनी क्युसेराको हो । तर, क्युसेराले मर्मतलाई वेवास्ता गर्दा ट्राफिक प्रहरीसहित सवारीचालक र पैदलयात्री समस्यामा परेका छन् । क्युसेराका सञ्चालक विवेक दर्शन श्रेष्ठले बुद्धचोकको लाईटमा समस्या आएको स्वीकार गर्दै त्यसको मर्मतका लागि प्राविधिक टोली आज (शुक्रबार) साझ सम्म आइपुग्ने बताए । उनले के कारणले समस्या आएको यकिन हुन नसकेको बताए । प्राबिधिक टोली आएपछि मात्रै थाह हुने श्रेष्ठले बताए ।