२०८२, श्रावण १ गते

Jul 17 2025 | २०८२, श्रावण १ गते

भैरहवा ग्रीन सिटीको नेतृत्वमा ग्रामीण क्षेत्रमा लायन्सको सेवा विस्तार

मंगलवार , माघ ११, २०७८

भैरहवा, ११ माघ ।
विश्वभरी विभिन्न क्लबहरुमार्फत सामाजिक सेवा गरिरहेको लायन्स क्लबले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा ग्रामीण क्षेत्र केन्द्रित सेवा विस्तारमा जोड दिन थालेको छ । डेढ वर्ष अगाडी भैरहवामा कार्यालय रहने गरी स्थापना भएको लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले रुपन्देही र कपिलवस्तुको ग्रामीण क्षेत्रमा आफ्नो सेवा विस्तार गर्न थालेको हो । 

यसैबीच लायन्सको अन्तर्राष्ट्रिय नारा ‘हामी सेवा गर्छौ’ र राष्ट्रिय नारा  ‘आफूलाई विश्वास गरौं’ तथा क्लबको नारा ‘समाजको लागि सँगसँगै’ भन्ने तीन किसिमका मन्त्रलाई आत्मसाथ गर्दै मानवीय सेवामा केन्द्रित भइरहेको लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले ग्रामीण क्षेत्र केन्द्रित गतिविधिलाई जोड दिएको क्लबका अध्यक्ष गोबिन्द प्रसाद गिरीले बताए । अध्यक्ष गिरीले भने, ‘लायन्सको अन्तर्राष्ट्रिय चैन भित्र रहेर हामीले नेपालमा ३२५ बी टू डिष्ट्रिक अन्र्तगत काम गरिरहेका छौं । हामी जतिसक्दो गाउँगाउँमा लायन्स क्लब खोल्ने, कोरोना महामारीको यो तेस्रो लहरमा पनि ती लायन्स क्लब र क्लबका सदस्यहरुमार्फत विभिन्न मानवीय कार्यलाई अगाडी बढाउने गरी गतिविधि गरिरहेका छौं । ’

अध्यक्ष गिरीले अगाडी भने, ‘कोरोनाको पहिलो लहरमा हामीले मास्क लगाउने अभियानलाई गाउँगाउँमा पुर्यायौं । दोस्रो लहरको बेला अस्पतालहरुमा उपचाररत बिरामी र तिनका कुरुवालाई खाना खुवाएर मानवीय सेवा गर्यौ, अब यतिबेला तेस्रो लहर चलिरहेको छ । यो समयमा पनि हामी आफू सुरक्षित भएर अरुलाई सक्दो मानवीय सेवा प्रदान गर्न लागिरहेका छौं ।’
संस्थाले रुपन्देहीको मर्चवारी गाउँपालिकामा लायन्स भिलेज निर्माण गर्ने गरी तयारी थालेको क्लबका प्रथम उपाध्यक्ष श्री बहादुर रायमाझीले बताए ।

IMG_20220125_133926.jpg

यसैबीच क्लबले मंगलबार कपिलवस्तुको पकडीमा लायन्स क्लब अफ कपिलवस्तु मायादेवी ग्रीन सिटीका सदस्यहरुलाई तालिम प्रदान गरेको छ । कपिलवस्तु जिल्लाको विभिन्न क्षेत्रमा सेवा गर्ने ध्ययेले स्थापीत उक्त संस्थाका बोर्ड सदस्यलाई तालिम दिइएको हो ।

उक्त तालिममा लायन्स ३२५ बी २ का जिल्ला उपप्रमुख विजय पाण्डेले लायन्स अभियानमार्फत नेतृत्व विकास मात्रै नभएर सामाजिक सेवामा ऐक्यवद्धता बढेर जाने बताए । 

सो कार्यक्रममा मायादेवी गाउँपालिका अध्यक्ष बजरंगी प्रसाद कुर्मीले सामाजिक सेवा र मानवीय सेवाका भावले मायादेवी गाउँपालिका क्षेत्रमा लायन्स क्लब अफ कपिलवस्तु मायादेवी ग्रीन सिटी सन्चालनमा आएको देख्दा गौरवान्वित भएको बताए । उनले भने, ‘अहिलेको समयमा सामाजिक र मानवीय सेवा भावले युवाहरुको सहभागितामा खुलेको सामाजिक संस्थासँग गाउँपालिकाको राम्रो सहकार्य हुनेछ ।’

अध्यक्ष कुर्मीले लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीको पहलमा र स्पोन्सरमा खुलेको लायन्स क्लब अफ कपिलवस्तु मायादेवी ग्रीन सिटीको सञ्चालनमा मायादेवी गाउँपालिकाले सक्दो सहयोग गर्ने पनि बताए ।

एकदिने उक्त तालिममा लायन्स ३२५ बी २ का जिल्ला उपप्रमुख विजय पाण्डेले लायन्सको मर्म, धर्म, सिद्वान्त, बैठक सञ्चालन विधि, कार्यक्रम सञ्चालन तरिकाको बारेमा प्रशिक्षण दिएका थिए । त्यसै गरी अर्का प्रशिक्षक श्री रायमाझीले लायन्स अभियान र लायन्स क्लबको भूमिकाको विषयमा, नरेश के.सी.ले सामाजिक सेवा, मानवीय सेवा र व्यक्ति विषयमा तथा गोबिन्द प्रसाद गिरीले लायन्स क्लबका अध्यक्षको जिम्मेवारी, सचिव र कोषाध्यक्षको जिम्मेवारी तथा सदस्यहरुको काम कर्तव्य र अधिकारको बारेमा प्रशिक्षण दिएका थिए ।  

लायन्स क्लब अफ कपिलवस्तु मायादेवी ग्रीन सिटीका अध्यक्ष दीपक पासीको अध्यक्षता, चन्द्रपाल कुर्मीको सञ्चालन तथा दिपेश्वर अर्यालको संयोजनमा सम्पन्न कार्यक्रममा प्रहरी नायब निरीक्षक देव बहादुर के.सी, गाउँपालिका अध्यक्ष बजरंगी प्रसाद कुर्मी लगायतले मन्तव्य राखेका थिए ।

IMG_20220125_134043.jpg

लायन्स क्लब अफ कपिलवस्तु मायादेवी ग्रीन सिटीले वर्तमान अवस्थामा कोरोना महामारीको तेस्रो लहरलाई मध्यनजर गरी गाउँपालिका, स्थानीय प्रहरी प्रशासन तथा सहयोगी संघ–संस्थाको सहकार्यमा विभिन्न सामाजिक र मानवीय कार्य गर्ने गरी योजनाहरु बनाएको संस्थाका अध्यक्ष दीपक पासीले बताए ।

लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले रुपन्देहीको लुम्बिनी र गैडहवा गाउँपालिका क्षेत्रमा तथा ओमसतिया गाउँपालिकामा पनि ग्रामीण क्षेत्र केन्द्रित विविध सामाजिक काम गर्ने गरी क्लबहरु गठन गरिसकेको छ ।

शिवनाथ गुप्ता संस्थापक अध्यक्ष रहेको लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले लायन्स ३२५ बी २ मा रहेका क्लबहरुमध्ये सबैभन्दा धेरै संस्थापक सदस्य संख्या रहेको क्लब पनि हो । उक्त क्लबले स्थापनाको वर्षदेखि नै निरन्तर लायन्स अन्तर्राष्ट्रिय र डिष्ट्रिकले प्रदान गर्ने महत्वपुर्ण सामाजिक तथा मानवीय सेवावापत प्रदान गरिने अवार्डहरु पनि प्राप्त गर्दै आएको छ ।