२०८२, श्रावण २० गते

Aug 05 2025 | २०८२, श्रावण २० गते

‘सरकारको पहिलो दायित्व नागरिकको जीवन रक्षा’

सोमवार , माघ १०, २०७८

लुम्बिनी, १० माघ ।
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले कोरोना संक्रमण नियन्त्रण, खोप अभियान र उपचारका विषयमा प्रदेश सरकारका प्रयासका बारेमा जानकारी लिएका छन् । उनले कोरोनाको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिएपछि प्रदेश सरकार र सरकारी निकायले नियन्त्रणमा गरेका प्रयासका बारेमा जानकारी लिएका हुन् ।

उनले आइतबार प्रदेश प्रमुखको कार्यालयमा आयोजना गर्नुभएको छलफलमा मुख्यमन्त्री कुलप्रसाद केसी, सभामुख पूर्णबहादुर घर्ती, प्रदेशका मन्त्री, स्वास्थ्य सचिव, सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीसँग जानकारी लिएका हुन् । 

प्रदेश प्रमुख शेरचनले कोरोना महामारी नियन्त्रणको लागि प्रदेशले अभियाननै सञ्चालन गरेर अन्य प्रदेशले पनि सिको गर्ने काम गर्न सुझाव दिए । उनले भने, “पर्याप्त मात्रामा पीसीआर परीक्षण नभएको, सिरिञ्ज अभाव र आर्थिक अभावले क्वारेन्टिन सञ्चालन हुन नसकेको मिडियाबाट आफूले जानकारी पाएको छु ।  तत्काल तीनै तहका सरकार मिलेर कोरोना संक्रमण नियन्त्रण तथा बिरामीको उपचारमा लाग्न म आग्रह गर्दछु  ।”

सरकारको पहिलो दायित्व नागरिकको जीवन रक्षा भएको प्रमुख जनाउँदै प्रमुख शेरचनले विकास निर्माणका काम स्थगित गरेर भएपनि नागरिकको जीवन सुरक्षा गर्नको लागि ध्यान दिन आग्रह गरे । 

सो अवसरमा मुख्यमन्त्री केसीले कोरोना संक्रमण नियन्त्रण र उपचारको लागि प्रदेशका मन्त्रीको अनुगमन समिति बनाएर प्रभावकारी उपचार भए नभएको बारेमा अनुगमनमा जोड दिइएको जानकारी दिए । उनले संघीय सरकार र नेपाली सेनाको प्रयासमा प्रदेशमा रुपन्देही, कपिलवस्तु र बाँकेमा गरी तीनवटा होल्डिङ सेन्टरको निर्माणको काम भइरहेको र बनिसकेका सेन्टरको सञ्चालन गरिने जानकारी दिए । रुपन्देहीमा जग्गा प्राप्त हुन नसक्दा होल्डिङ सेन्टर नबनेको र कपिलवस्तु र बाँकेमा निर्माणको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । 

प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डा. विकास देवकोटाले अहिले प्रदेशमा कोरोना परीक्षण भएका करिब ६० प्रतिशतमा कोरोना पोजेटिभ देखिने गरेको जानकारी  दिए । उनले नयाँ भेरियन्टसँगै संक्रमण फैलिएपछि प्रदेशमा ११ जनाको मृत्यु भएको ५ हजार ५२८ संक्रमित भएको र पाँच हजार ३६ होम आइसोलेशन, ५० जना संस्थागत आइसोलेसन, ३३ जना आइसीयू र एक जना भेन्टिलेटरमा रहेको जानकारी दिए । उनका अनुसार प्रदेशमा लुम्बिनी प्रादेशिक, भीम अस्पताल, भेरी र राप्ती अस्पताललाई कोरोना डेडिकेटेट अस्पताल बनाएर तयारी अवस्थामा राखिएको प्रदेशका विभिन्न अस्पतालमा ६२४ एचडीयू २५३ आइसीयू र ६२ भेन्टिलेटर तयारी अवस्थामा राखिएकोे छ । अहिलेसम्म प्रदेशमा लक्षित जनसंख्यामध्ये ८३ प्रतिशतलाई पहिलो र ६५ प्रतिशतलाई दोस्रो मात्राको कोरोनाविरुद्धको खोप लगाइएको र प्रदेशमा अझै पनि १८ लाख ६२ हजार भन्दा बढी डोज आवश्यकता रहेको सो अवसरमा जानकारी दिइएको थियो छ ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले भारतबाट आएका यात्रुका नाकामा कोरोना परीक्षण गर्दै आएको र संक्रमण पोजेटिभ देखिएकाका व्यवस्थापमा समस्या रहेको जानकारी दिए । उनले बेलहिया नाकाबाट देशका विभिन्न ठाउँमा जाने यात्रु आउने र उनीहरुलाई गन्तव्यसम्म पुर्याउने चुनौती रहेको बताए । 

नेपाल प्रहरी लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक प्रकाश अधिकारीले प्रहरीले कोरोना संक्रमण नियन्त्रणका लागि नागरिकमा सुरक्षा सचेतना फैलाउने अभियान चलाएको जानकारी दिए ।  

महासेनानी मचिन्द्र थापाले प्रदेशको रुपन्देही, बाँके र कपिलवस्तुमा अहिले होल्डिङ सेन्टर निर्माणको काम  भइरहेको र कपिलवस्तुमा ८२ प्रतिशत भौंतिक र ५५ प्रतिशत आर्थिक प्रगति भएको जानकारी दिए । रासस