२०८२, श्रावण २० गते

Aug 05 2025 | २०८२, श्रावण २० गते

बुटवलमा डेढ लाख जनाले लगाए कोरोनाविरुद्धको खोप

आइतवार , माघ ९, २०७८

बुटवल, ९ माघ । 
रुपन्देहीको बुटवल उपमहानगरपालिकामा १८ वर्ष माथिका सबैका लागि खोप सुनिश्चित भएको छ । हालसम्म बुटवलमा कोरोनाविरुद्ध करिब डेढ लाख जनाले खोप लगाएका छन् । दुवै अर्थात् पूरा डोज खोप लगाउनेको संख्या पनि सवालाख पुगेको उपमहानगरले जनाएको छ । 

खोप लगाउन छुट भएका तथा एउटा मात्र डोज लगाएर दोस्रो लगाउन बाँकी रहेकाहरुलाई लक्षित गरी माघ ९ गते आइतबारदेखि उपमहानगरले विभिन्न १५ स्थानमा खोप कार्यक्रम सुरु भएको छ ।  

महामारीको जोखिम न्यूनीकरण, रोकथाम, उपचार र जनस्वास्थ्य सुरक्षाका उपाय अबलम्बन गरिएको प्रमुख शिवराज सुवेदीले बताए । बुटवलका सबै नागरिकका लागि खोपको प्रबन्ध गर्दै पायक पर्ने स्थानमा खोप केन्द्र तोकेर स्वास्थ्यकर्मी परिचालन गरिएको बताउँदै सुवेदीले जनस्वास्थ्यको संवेदनशीलतामा आफूहरु सजग र सचेत रहेको बताए । 

बुटवल उपमहानगरमा कोभिडको सुरुवाती चरणमा सन्देश प्रवाह गर्ने, आइसोलेशन र क्वारेन्टाइन निर्माण गर्ने, २४ घण्टामा ५० वेडको कोभिड विशेष अस्पताल निर्माण गर्ने, प्रमुख सुवेदीकै नेतृत्वमा जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरु संक्रमितको घरदैलोमा आयुर्वेद ओखती र स्वास्थ्य लाभको पत्र बोकेर जाने र अक्सिजन सेवा बैंक सञ्चालन गर्नेसम्मका काम भएका छन् । 

त्यसयताका चरणमा स्वास्थ्य संस्थाको क्षमता वृद्धि, जनशक्तिको प्रवन्ध, स्वास्थ्य उपकरणको प्रबन्धदेखि सबै नागरिकका लागि खोपको प्रबन्ध गर्नेसम्मका काम भइरहेको प्रमुख सुवेदीको भनाइ छ । 

उपमहानगरको स्वास्थ्य शाखाको तथ्यांकअनुसार बुटवलमा पहिलो डोज झण्डै डेढ लाख र पूरा डोज १ लाख १२ हजार जनाले लगाइसकेका छन् भने कतिपय केन्द्रहरुमा बुस्टर डोज समेत चलिरहेको छ ।

उपमहानगरको स्वास्थ्य शाखाकी प्रमुख कल्पना भट्टराईको नेतृत्वमा करिब ८० जना स्वास्थ्यकर्मीको जनशक्ति महामारी सुरु भए यतादेखि निरन्तर महामारी नियन्त्रण, स्वास्थ्य सेवा प्रवाह र खोप कार्यक्रम सञ्चालनको अभियानमा केन्द्रित रहेको छ । 
बुटवलका १५ स्थानमा जोनसोन खोप र छुट भएका सबै प्रकारका खोप लगाउनेगरी सबै प्रबन्ध मिलाई वडाहरुमा र टोलटोलमा सूचना प्रवाह गरिएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए । 

मुलुकमै पहिलोपटक आयुर्वेद ओखतीको पोको बोकेर संक्रमितको घरदैलोमै पुगेर नगरप्रमुख सुवेदी र उपप्रमुख गुमादेवी आचार्य तथा सम्बन्धित वडाका जनप्रतिनिधिले संक्रमितलाई स्वास्थ्यलाभको कामना गर्दै मनोबल बढाउने काम गरिएको स्मरण गर्दै प्रवक्ता रेग्मीले जनस्वास्थ्यको संवेदनशीलतालाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको बताए । 

बुटवलको २ नम्बर वडा कार्यालय परिसरमा रहेको स्वास्थ्य प्रवद्र्धन केन्द्र, ३ नम्बर वडा कार्यालय, ४ नम्बर वडा कार्यालय परिसर, ८ र १० नम्बर वडा कार्यालय परिसर, बुद्धवल–११ बुद्धनगरमा रहेको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र र सेमलार स्वास्थ्य चौकीमा खोप केन्द्र तोकेर त्यहाँ जनशक्ति परिचालन गरिसकिएको महाशाखा प्रमुख मित्रमणि खनालले जानकारी दिए ।  

यस्तै सहरी स्वास्थ्य केन्द्र बुटवल–१, तिलोत्तमा मावि पछाडिको कालिका मन्दिर परिसर, बुटवल–७ को सहरी स्वास्थ्य केन्द्र, ५ नम्बर वडा कार्यालय, एम्स कलेज परिसर, बुटवल–१२ को सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र, मोतिपुर स्वास्थ्य चौकी र वडा नम्बर १९ तपाहा लाइनमा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा खोप कार्यक्रम सञ्चालन हुने छ । 

यी सबै केन्द्रमा एक साथ नभई समय तालिमा मिलाएर खोप चलाइने छ । त्यस्तै माघ ९ गतेदेखि सुरु हुने खोप कार्यक्रम १३ गतेसम्म चल्ने र दोस्रो मात्रा छुट भएकालाई भने नजिकैकौ केन्द्रमा जुनसुकै दिन पनि सम्पर्क गरेर लगाउन सकिने प्रबन्ध गरिएको महाशाखा प्रमुख खनालले बताए ।