
आइतवार , माघ ९, २०७८
बुटवल, ९ माघ ।
कोरोना संक्रमित पत्रकारहरुका लागि सहज रुपमा उपचारको व्यवस्था मिलाउने गरी नेपाल पत्रकार महासंघ रुपन्देही शाखा र बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबीच सम्झौता भएको छ । आइतबार अस्पताल परिसरमा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. ईन्द्र ढकाल र पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोख्रेलबीच उपचार सम्झौता भएको थियो।
सम्झौता अनुसार पत्रकारहरुलाई मात्र पीसीआर परीक्षण निःशुल्क गर्ने कोरोना संक्रमित एचडीयू बेडमा नेपाल पत्रकार महासंघ रुपन्देहीको सिफारिस र प्राथमिकताको आधारमा एक बेड निःशुल्क उपलब्ध गराउने, कोरोना संक्रमित आइसीयू बेडमा नेपाल पत्रकार महासंघ रुपन्देहीको सिफारिस र प्राथमिकताको आधारमा १ वेड निःशुल्क उपलब्ध गराउने र ज्वरो क्लिनिकमा महासंघको सिफारिसकै आधारमा निःशुल्क परामर्श सेवा उपलब्ध गराउने उल्लेख छ ।
सम्झौता कार्यक्रममा बोल्दै अस्पतालका मेसु डा. ढकालले नागरिकलाई सुसुचित गराउने सन्दर्भमा फ्रन्टलाइनमा खटिई कार्य गर्ने पत्रकार तथा सञ्चारकर्मीहरुलाई तेस्रो लहरको बेला सहज र प्रथमिकताका साथ उपचार प्रबन्ध मिलाइदिन महासंघको पत्रअनुसार अस्पतालको निर्णयपछि सेवा व्यवस्थापन गरिएको बताए । उनले आफ्नो कार्यकालमा पत्रकारहरुको लागि अन्य समयमा पनि कार्यान्वयन हुने खालको योजना बनाएर सम्झौता गरिने आश्वासन समेत दिएका थिए ।
धन्यवाद ज्ञापन गर्दै नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोखरेलले अस्पतालबाट आगामी दिनमा पनि थप सुविधा पाइनेमा आशा व्यक्त गरे । उनले महासंघले सधै पत्रकारको हित र रक्षाको क्षेत्रमा काम गर्ने बताए ।
कार्यक्रममा महासंघका अध्यक्ष पोखरेलसहित उपाध्यक्षद्वय विश्वास ढकाल, अमृता अनमोल, कोषाध्यक्ष सञ्जय सौगात, कार्यक्रम समिति सदस्य प्रदीप आचार्य तथा साधारण सदस्यहरुको सहभागिता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij