२०८२, श्रावण २० गते

Aug 05 2025 | २०८२, श्रावण २० गते

‘सप्ताहव्यापी निःशुल्क मास्क वितरण’ अभियान

आइतवार , माघ ९, २०७८

काठमाडौं, ९ माघ ।
महानगरीय प्रहरी वृत्त थानकोट र थानकोट जेसिजको संयुक्त आयोजनामा ‘सप्ताहव्यापी निःशुल्क मास्क वितरण तथा जनचेतनामूलक कार्यक्रम’ शुभारम्भ गरिएको छ । थानकोट प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’अन्तर्गत कोरोना संक्रमण न्यूनीकरणका लागि थानकोट जेसिजका सहकार्यमा शनिबारदेखि सो अभियान सुरु भएको  हो ।

कार्यक्रममा महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक मनोजकुमार श्रेष्ठले पछिल्लो समय मुलुकमा बढ्दै गएको ओमिक्रोन भेरियन्टबाट आम नागरिकलाई जोगाउनका लागि उक्त अभियान सञ्चालन गरेको जानकारी दिए । उनले भने, “प्रहरीले आम नागरिकलाई संक्रमणबाट जोगाउनका लागि यसअघिदेखि नै मास्क वितरण अभियानलाई निरन्तरता दिइरहेको थियो  । ” 

कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष योगीराज अधिकारीले सामाजिक दायित्वको भावले आम नागरिकलाई स्वास्थ्य बनाउनका लागि जेसीजले विभिन्न संस्थासँग सहकार्य गरेर अगाडि बढेको जानकारी दिए ।  

चन्द्रागिरि नगरपालिका–६ का वडाध्यक्ष सञ्जय सिक्देल, वडा नम्बर ७ का वडाध्यक्ष शम्भुकुमार केसी, थानकोट जेसीज २०२२ का अध्यक्ष रोशन दानी लगायतले कोरोना महामारी नियन्त्रण, रोकथाम र जनचेनामूलक कार्यक्रमको पहिलो दायित्व स्थानीय सरकारको भएको बताए ।

सोही अवसरमा काठमाडौँ बाहिरबाट काठमाडौँ उपत्यका भित्रिने सवारीसाधनका चालक, सहचालक र यात्रु तथा पैदलयात्रुलाई एक हजार मास्क वितरण गरिएको थियो ।  अभियान थानकोट, नागढुंगा, गुर्जुधारा, नैकाप, दहचोक, तीनथाना लगायतका क्षेत्रमा सञ्चालन हुने थानकोट प्रहरीले जनाएको छ । रासस