२०८२, श्रावण २० गते

Aug 05 2025 | २०८२, श्रावण २० गते

‘अनिवार्य मास्कको प्रयोग गरौँ’ अभियान सुरु

बिहिवार , माघ ६, २०७८

काठमाडौं, ६ माघ ।
ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा सञ्चालित सार्वजनिक बसका चालक, सहचालक र यात्रुलाई लक्षित गरी ‘अनिवार्य मास्कको प्रयोग गरौँ’ अभियान सुरुवात गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकार्यमा बिहीबारदेखि न्यूरोड गेटबाट ‘अनिवार्य मास्कको प्रयोग गरौँ’ अभियान सुरुवात गरेको हो । अभियानको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र महासंघका महासचिव सरोज सिटौलाले सार्वजनिक सवारीसाधनमा जनचेतनामूलक पर्चा टाँसेर शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा महाशाखाका प्रमुख जोशीले मुलुकमा कोरोनाको तेस्रो लहर तीव्र गतिमा बढिरहेको बेलामा सार्वजनिक यातायातबाट हुन सक्ने संक्रमण रोक्नका लागि ‘अनिवार्य मास्कको प्रयोग गरौँ’ अभियान सुरुवात गरिएको बताए । सुरुको चरणमा १५ हजार सार्वजनिक सवारीसाधनमा जनचेतनामूलक अभियान सञ्चालन गर्ने महाशाखाले जनाएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सिटौलाले तेस्रो चरणको कोरोना संक्रमणका कारण यातायात मजदूर तथा यात्रुलाई थप क्षति नपुगोस् भन्ने उद्देश्यले उक्त अभियान सञ्चालन गरेको जानकारी दिए ।

“अहिले राजधानीबाट सुरु गरेको यो अभियानलाई क्रमशः देशव्यापी लैजान्छौँ”, उनले भने । उनले देशभरका यातायात मजदूरलाई अनिवार्य रुपमा मास्कको प्रयोग गर्न समेत आग्रह गरेका छन् । रासस