२०८२, श्रावण २० गते

Aug 05 2025 | २०८२, श्रावण २० गते

निःशुल्क रगत अभियानलाई कार्यान्यवन गर्ने स्वास्थ्यमन्त्री थारुको घोषणा    

बिहिवार , माघ ६, २०७८

बुटवल, ६ माघ ।
लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले प्रदेशमा निःशुल्क रगतको अभियानलाई कार्यान्यवन गर्ने बताएका छन् । रुपन्देहीका साईक्लिङ क्लबहरुको अगुवाई, हिमालयन इन्टरियर प्रा.लि.को सहयोग तथा नेपाल रेडक्रस सोसाइटी, रक्त संचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा बुधबार बुटवलमा भएको रक्तदान कार्यक्रममा बोल्दै उनले ४ करोड रुपैयाँ बजेट विनियोजन गरेर कार्यान्वयन गर्न सरोकारवाला निकायहरुको समन्वय तथा आवश्यक छलफल गरी अघि बढाएको बताए ।  बिरामीहरुले निःशुल्क रगत उपलब्ध हुनु नै प्रमुख लक्ष्य भएको भन्दै उनले यसलाई क्रमशः प्रदेशभर नै निःशुल्क रगत उपलब्ध हुने गरी स्थायी नीति बनाउन चाहेको समेत दावी गरे । 

कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले स्वास्थ्य भएको प्रमाण रक्तदान भएको भन्दै प्रत्येक स्वस्थ्य व्यक्तिले ९० दिनको अन्तरमा रक्तदान गर्न मिल्ने बताए । ‘रगत नपाए बुटवल जाऔ’ भन्ने नारासहित भूकम्पको विपद्को बेलामा समेत बुटवल क्षेत्र मात्र नभइ काठमाण्डौमा समेत रगत पु¥याउने काम गरेको भन्दै उनले सामाजिक कार्यमा सबै व्यवसायिक संस्थाहरुको सहकार्य जरुरी हुने बताए ।   

कार्यक्रममा हिमालयन ईन्टरियर प्रा.लि.का डाईरेक्टर सरोज थापाले काठमाण्डौमा मुख्य कार्यालय रहेको भानाचाइको बुटवलमा शाखा कार्यालयबाट सामाजिक उत्तरदायित्व अन्तरगत पहिलोपटक रक्तदान कार्यक्रम गरिएको बताए । रक्तदानसंगै अन्य सामाजिक कार्यहरुमा स्थानिय युवा तथा संघ–संस्थाहरुको सहकार्यमा आगामी दिनहरुमा समेत निरन्तरता दिने उनले बताए ।  

रक्तदान कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री, बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठ, सचिव राजु तिवारी, जिल्ला साईक्लिङ संघका उपाध्यक्ष अभिशेष भारी, नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र बुटवलका ल्याब प्राविधिक बारिस अलि खाँ, हिमालयन ईन्टरियर प्रा.लि.का चेयरमेन दिपक थापाले रगत अभावलाई पुरा गर्न रुपन्देहीमा निरन्तर आकस्मिक रक्तदान कार्यक्रममा जोड दिनुपर्ने बताए । 

कार्यक्रममा ५० युनिट रगत संकलन भएको संयोजक रविलाल सुवेदीले बताए । हिमालयन इन्टरियर प्रालि अमेरिकी कम्पनीको मलेसियामा उत्पादन हुने कच्चा पदार्थ मेसोनाईड कम्पनीको नेपालमा आफनै उद्योग संचालन गरी उत्पादन गरिरहेको छ । काठमाण्डौमा ३ वटाका साथै बिर्तामोड, ईटहरी, पोखरा, नारायणगढ शाखा कार्यालय रहेको छ ।