
बुधवार , माघ ५, २०७८
बुटवल, ५ माघ ।
बुटवलका विभिन्न शहरी स्वास्थ्य केन्द्रहरु व्यवस्थित भएका छन् । यहाँका सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा आधुनिक ल्याब सेवासहितको प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्दै सञ्चालनमा ल्याइएको छ ।
विस्तार भएका र ल्याबसहितको स्वास्थ्य प्रवद्र्धन केन्द्रको हालै एक समारोहबीच प्रमुख शिवराज सुवेदीले शुभारम्भ गरेका छन् । सेवाग्राहीको आकर्षण बढेकोले जनस्वास्थ्यका सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन विशिष्टीकृत सेवा समेत थपेर विस्तार गरिएको प्रमुख सुवेदीले बताए ।
बुटवल वडा नम्बर २, १५, १६ र वडा नम्बर १९ मा शहरी स्वास्थ्य केन्द्र व्यवस्थित गरिएको छ । नयाँ संरचनामा नयाँ व्यवस्थासहितको स्वास्थ्य केन्द्रको प्रमुख सुवेदीले शुभारम्भ गरेका हुन् । उक्त अवसरमा उपप्रमुख गुमादेवी आचार्य, प्रवक्ता रामप्रसाद रेग्मी, प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र भारती, सम्बन्धित वडाका अध्यक्ष तथा जनप्रतिनिधि, शिक्षा, जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणी खनाल, स्वास्थ्य शाखा प्रमुख कल्पना भट्टराई लगायतको सहभागिता थियो ।
नयाँ संरचनामा शुभारम्भ गरिएका स्वास्थ्य केन्द्रहरु र यसअघि नै व्यवस्थित गरिएका समेत गरी बुटवलमा हाल १२ वटा स्वास्थ्य संस्थाहरु रहेका छन् । मोतिपुर र सेमलारमा स्वास्थ्य चौकी, नयाँगाउँ र बुद्धनगरमा शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र र बाँकी ठाउँमा शहरी स्वास्थ्य केन्द्र रहेका छन् । शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र नयाँ गाउँमा मेडिकल अफिसर, स्वास्थ्यकर्मीहरु र एक्सरे, अल्ट्रा साउण्ड र मधुमेह परीक्षणको सुविधा समेत उपलब्ध छ । यी सबै स्वास्थ्य संस्थाहरुमा करिब ७५ प्रकारका औषधि निःशुल्क रुपमा वितरण हुँदै आएको छ । जनस्वास्थ्यको क्षेत्रमा मेडिकल अफिसरसहित ८१ जनाको जनशक्तिले सेवा प्रवाह गरिरहेको छ ।
बुटवल उपमहानगरका १९ वटै वडाहरुमा मेडिकल अफिसर र जनस्वास्थ्य अधिकृतले आधुनिक ल्याबसहित नियमित सेवा प्रवाह गरिरहेका छन् । साना–साना स्वास्थ्य समस्यालाई लिएर पनि उनीहरु स्वास्थ्य संस्थामा जान थालेका छन् । उपमहानगरमा रहेको विभिन्न १८ वटा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुले नियमित सेवा प्रवाह गर्दै आएका छन् ।
शहरी स्वास्थ्य केन्द्र, शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र तथा स्वास्थ्य चौकीमार्फत प्राथमिक स्वास्थ्य सेवालाई प्रभावकारी र विश्वसनीय बनाउने पहल थालिएदेखि नै नगरबासीको आकर्षण बढेको प्रमुख शिवराज सुवेदीले बताए । सेवाग्राहीको संख्या मात्रै होइन उनीहरुमा सन्तुष्टि पनि बढाउने गरी सेवाप्रवाहलाई प्रभावकारी बनाउन पनि निर्देशन दिइएको उनको भनाइ छ । मातृशिशु, महिला, गर्भवती, बालबालिकादेखि हरेक उमेर समूहलाई लक्षित गरी विश्वसनीय, जवाफदेहीपूर्ण र प्रभावकारी सेवा उपलब्ध गराउने प्रयास गरिएको प्रमुख सुवेदीले बताए ।
बढ्दो मात्रामा छन् सेवाग्राही
सरकारी तबरका स्वास्थ्य संस्थामा सेवाग्राही विश्वस्त हुन नसकेको र सेवा प्रवाह पनि प्रभावकारी नभएका गुनासा आइरहेका बेलामा बुटवल उपमहानगरपालिकामा भने सरकारीमै सेवा लिनेको संख्यामा भने उल्लेख्य वृद्धि भएको छ । आर्थिक वर्ष २०७४÷७५ मा नगरका सम्पूर्ण स्वास्थ्य संस्थाहरुबाट बहिरंग सेवा लिने २१ हजार ४ सय ७३ जना रहेकोमा गत आव २०७५/७६ मा १० हजार भन्दा धेरैले वृद्धि भए । त्यस वर्ष मात्रै कुल ३२ हजार आठ सय २१ जनाले सेवा लिएको उपमहानगरको शिक्षा, स्वास्थ्य तथा जनसंख्या महाशाखाको तथ्यांकमा छ । गत आवमा यो संख्या अझ बढेको छ ।
स्वास्थ्य संस्था नभएका वडाहरुमा वडा क्लिनिक सञ्चालन गरिएको थियो । जसअन्र्तगत आव २०७४÷७५ मा ४ हजार ७ सय ४ जनाले सेवा लिएकोमा गत आव ०७५÷७६ मा वृद्धि भई ९ हजार ५ सय ९० जना सेवाग्राही पुगे । ०७६÷०७७ मा त्यो संख्यामा कैयन वृद्धि भएर ४२ हजार ३ सय ५४ जनाले सेवा लिएका छन् भने ०७७/०७८ मा ४५ हजार ६ सय २० जनाले र चालु आवको हालसम्मको अवधिमा मात्रै ३८ हजार जनाले समग्र स्वास्थ्य संस्थाहरुबाट सेवा लिएको स्वास्थ्य शाखाका प्रमुख कल्पना भट्टराईले जानकारी दिइन् ।
यो संख्या उपमहानगर मातहत रहेका १२ वटा संस्थामा सेवा लिन आएका सेवाग्राहीको मात्रै हो । बुटवलमै रहेका, आम्दा, प्रादेशिक अस्पताल र अरु अस्पतालहरुमा सेवा लिनेको संख्या यसमा समावेश छैन । बुटवल उपमहानगरले सिद्धार्थ बाल तथा महिला अस्पतालमा उपमहानगरको अलग्गै खोप भण्डार केन्द्र स्थापना गरेर सञ्चालनमा ल्याएको छ ।
ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर स्वास्थ्य सेवा
८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरदैलोमै चौमासिक रुपमा पुगेर स्वास्थ्य चेकजाँच र निःशुल्क औषधि उपलव्ध गराउने स्थानीय तहमा बुटवल नै मुलुकमा पहिलो मानिन्छ । ‘नगरप्रमुख जेष्ठ नागरिक घरदैलो निःशुल्क स्वास्थ्य परीक्षण’ शिर्षकमा सुरु भएको यो कार्यक्रम अन्र्तगत करिब १० हजार जना ज्येष्ठ नागरिकले सेवा लिएका छन् । यो कार्यक्रम कोभिड महामारी र स्वास्थ्य मापदण्डको पालना गर्दै अहिले पनि जारी राखिएको छ ।
गर्भवती तथा सुत्केरीलाई घरमै पुगेर पोषण र औषधि
गर्भवती तथा सुत्केरी महिलाहरुलाई पनि घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गरिएको छ । पहिलो चरणमा सत्केरीलाई घरमै पुगेर पोषण सामग्री र भत्ता प्रदान गरिएको छ । त्यस्तै गर्भवतीलाई स्वास्थ्य संस्थामा आकर्षित गर्न क्याल्सियम चक्कीसहित पोषण साम्रगी सहयोग गरिएको छ । महिलामा स्वास्थ्य तथा सरसफाईसम्बन्धी क्षमता अभिवृद्धि गराउने उद्देश्यले उपप्रमुख गर्भवती तथा सुत्केरी भेटघाट कार्यक्रम सञ्चालन गर्नेमा बुटवल मुलुकमै नमुना हो । यस कार्यक्रम अन्र्तगत तीन हजार जना लाभान्वित
भएका छन् ।
उपप्रमुख गुमादेवी आचार्यले घरमै भेट्न गएर हालचाल सोधपुछ गर्ने र केही पोषण सामग्री प्रदान गर्दा उनीहरुमा सार्वजनिक स्वास्थ्यप्रति विश्वास बढेको पाइएको बताइन् । प्रोटोकल अनुसार चारपटक गर्भजाँच गर्ने महिलाको संख्या पनि बढिरहेको छ । करीब ३ हजार जनाले सेवा लिइसकेको स्वास्थ्य शाखाको तथ्यांकमा छ ।
सबै वडालाई पायक पर्ने गरी सञ्चालन गरिएका स्वास्थ्य संस्था तथा विभिन्न समयमा गरिने स्वास्थ्य शिविरमा हरेक वर्ष समुदायको आकर्षण बढ्दै गएको शिक्षा, जनशंख्या तथा स्वास्थ्य महाशाखा प्रमुख मित्रमणी खनालले बताए । उनले स्वास्थ्य केन्द्रहरुमा अझ आधुनिक उपकरण र दक्ष जनशक्ति थपेर सेवाप्रवाह प्रभावकारी बनाइने पनि बताए ।
४० नाघेका सबैको निःशुल्क मधुमेह परीक्षण
नगरका स्वास्थ्य संस्थाहरुबाट ४० वर्ष भन्दा माथिका नागरिकहरुलाई निःशुल्क मधुमेह (सुगर) परीक्षण भइरहेको छ । यसखालको निःशुल्क सेवा मुलुकमै बुटवलले पहिलोपटक सुरु गरेको हो । यसअन्र्तगत हालसम्म करिब ३६ हजार जनाले यो सेवा लिइसकेका छन् । उपमहानगरका स्वास्थ्य संस्थाहरुबाट गर्भवती महिलाहरुको निःशुल्क ल्याब परीक्षण गर्ने कार्यक्रम पनि बुटवलबाटै पहिलोपटक सुरु भएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij