
मंगलवार , माघ ४, २०७८
भैरहवा, ४ माघ ।
रुपन्देहीको शुद्धोधन गाउँपालिकामा आँखा उपचार केन्द्रको उद्घाटन गरिएको छ । केन्द्रको मंगलबार एक कार्यक्रमकाबीच शुद्धोधन गाउँपालिका अध्यक्ष किशुनचन्द चौधरीले उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले नेपाल नेत्र ज्योति संघ लुम्बिनी नेत्र विज्ञान अध्ययन तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पतालले गाउँपालिकामा ठूलो योगदान गरेकोमा धन्यवाद व्यक्त गरे । उनले शुद्धोधन गाउँपालिकास्थित मानपकडीमा आँखा उपचार केन्द्रले अबका केही दिनमै चारवटा गाउँपालिकाको सेन्टर बनाएर आँखा उपचार केन्द्रमा बिरामीहरुको आँखाको शल्यक्रिया र बिरामीहरुलाई भर्ना समेतको व्यवस्था छिटो भन्दा छिटो कार्यसम्पन्न गरिने प्रतिबद्धता गरे । अबका दिनहरुमा स्थानीयवासीले आँखा उपचारका लागि टाढा धाउनु नपर्ने अध्यक्ष चौधरीले बताए ।
नेपाल नेत्र ज्योति संघका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी शाखाका सभापति सागर प्रताप राणाले नेत्र ज्योति संघअन्तर्गतको रण अम्बिका आँखा अस्पतालको व्यवस्थापन समितिको र शुद्धोधन गाउँपालिकाको सहयोगमा आँखा उपचार केन्द्रको सुरुवात गरिएको बताए ।
मंगलबारदेखि सेवा केन्द्र शुभारम्भ भएकोमा शुद्धोधन गाउँपालिका, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीलाई उनले धन्यवाद व्यक्त गरे । आँखाको समस्याले बुटवल धाउने बाध्यता हट्ने र आँखा उपचार केन्द्रमा ४ जना स्वास्थ्यकर्मीले निरन्तर सेवा दिने राणाले बताए ।
नेत्र ज्योति संघका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी शाखाका सभापति सागरप्रताप राणाको अध्यक्षता, शुद्धोधन गाउँपालिका अध्यक्ष किशुनचन्द चौधरीको प्रमुख आतिथ्यता, गाउँपलिकाका प्रमुख प्रशासकीय अधिकृत झबिलाल भट्टराईको विशिष्ट आतिथ्यता तथा अस्पताल व्यवस्थापन समितिका सदस्य गणेश बहादुर क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।
त्यस्तै अस्पतालले मंगलबार निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । जसबाट सयौं भन्दा बढी बिरामी लाभान्वित भएका छन् । २५० जना आँखाको बिरामीहरुको परीक्षण गर्दा ४० जनामा मोतियाबिन्दुको समस्या रहेको उनीहरुको शल्यक्रियाका लागि रण अम्बिका शाह आँखा अस्पताल भैरहवा रिफर गरिएको अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेयले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij