
सोमवार , माघ ३, २०७८
काठमाडौं, ३ माघ ।
नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा ११ हजार ९० लाई माक्स वितरण गरेको छ । प्रहरीले कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि सुरु गरेको ‘तपाईंको मास्क खोई ?’ अभियानअन्तर्गत पछिल्लो २४ घण्टामा उक्त व्यक्तिलाई माक्स वितरण गरेको हो ।
कोरोनाबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गर्दै प्रहरीले संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्तरुपमा कार्यान्वयनका लागि ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खै ?’ अभियान सञ्चालन गरेको थियो ।
गत वैशाख ६ गतेदेखि सञ्चालन भएको उक्त अभियानअन्तर्गत हाल देशभर १४ लाख ७९ हजार ५६५ लाई निःशुल्क माक्स वितरण गरिसकेको प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्षले जनाएको छ । माक्स वितरण अभियानबाहेक प्रहरीले देशभर सञ्चालन गरेको माइकिङ, प्लेकार्ड, पर्चा, पम्प्लेटसहितको ६५ वटा सचेतनामूलक कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा १३ हजार २९ लाई सचेत गराएको छ ।
नेपाल प्रहरीको प्रवक्तामा केसी
नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीलाई प्रदान गरिएको छ । नेपाल प्रहरीद्वारा सम्पादित जनचासोका काम कारबाहीलाई यथार्थ एवं तथ्यगत रुपमा सञ्चार माध्यममा सम्प्रेषण गर्नका लागि केसीलाई प्रहरी प्रवक्ताको जिम्मेवारी प्रदान गरिएको हो । प्रवक्ता केसी हाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij