images

बिहिवार, चैत्र १५ गते २०८०

नेपालद्वारा अफगानिस्तानलाई मानवीय सहयोग सामग्री हस्तान्तरण

नेपालद्वारा अफगानिस्तानलाई मानवीय सहयोग सामग्री हस्तान्तरण

images
images
images
आइतवार, माघ २ २०७८
आइतवार, माघ २ २०७८
  • नेपालद्वारा अफगानिस्तानलाई मानवीय सहयोग सामग्री हस्तान्तरण

    अफगानिस्तान (काबुल), २ माघ  ।
    नेपाल सरकारले अफगानिस्तानका जनताका लागि नेपाली जनताका तर्फबाट प्रदान गरेको मानवीय राहत सामग्री हस्तान्तरण गरिएको छ । अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको संयुक्त राष्ट्र संघको सहायता मिसनमा आज आयोजित कार्यक्रममा नेपालको परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्सालले राष्ट्र संघका महासचिवका उपविशेष प्रतिनिधि डा. रामिज अलकबारोभलाई सो सामग्री हस्तान्तरण गरेकी हुन् ।

    images
    images
    images

    कार्यक्रममा मन्त्रालयको प्रवक्तासमेत रहेकी सहसचिव लम्सालले सार्कको सदस्य राष्ट्र र नेपालको सुमधुर सम्बन्ध भएको मुलुकका जनतालाई सहयोग गर्न पाउनु खुसीको कुरा भएको बताइन् । उनले यस कार्यमा परराष्ट्रमन्त्री डा नारायण खड्काको पहलमा मन्त्रालयले धेरै अघिदेखि तयारी गरेको जानकारी गराउँदै सहयोग सामग्री उपलब्ध गराउने नेपालका निजी क्षेत्रलाई धन्यवाद दिइन् ।  

    यसैगरी उपविशेष प्रतिनिधि डा. अलकबारोभले नेपालले गरेको सहयोगका लागि आभार व्यक्त गर्दै उपलब्ध मानवीय सहायता सामग्री दैनिक आवश्यकता भएका अफगान जनतालाई पारदर्शी रुपले वितरण गरिने विश्वास दिलाइन् । परराष्ट्र मन्त्री डा. खड्काको पहलमा नेपाल सरकारले औषधि, लत्ताकपडा र घरायसी सामानसहित ९ हजार ७१५ केजी मानवीय सहायता सामग्री आजै चार्टर्ड विमानमार्फत अफगानिस्तान पठाएको थियो । अफगानिस्तानमा पछिल्लो समय आर्थिक कठिनाइ र कठोर जाडो मौसमले त्यहाँका जनतालाई अन्तर्राष्ट्रिय समुदायबाट मानवीय सहायता र समर्थनको आवश्यकता छ ।

    नेपालका तर्फबाट उक्त सामग्री नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, अवैतनिक महावाणिज्य दूतावास नेपाल, अग्रवाल सेवा केन्द्र, हिमालय एयरलाइन्स लगायत निजी क्षेत्रका संघ–संस्था लगायतले सहयोग गरेका हुन् । हिमालय एअरलाइन्सले उक्त मानवीय सहायता सामग्री पुर्याउन आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काबुलतर्फ आफ्नो निःशुुल्क कार्गो उडान भरेको हो ।

    सामग्री हस्तान्तरण गर्न परराष्ट्र मन्त्रालयका पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी र अवैतनिक वाणिज्य दूत गरी १५ सदस्यीय टोलीमा अफगानिस्तान गएको थियो । आजै बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री डा. खड्काले मित्र राष्ट्र अफगानिस्तानलाई आइपरेको मानवीय समस्यामा नेपाली जनताका तर्फबाट सहयोगी हात बढाउनु नेपाल सरकारको नैतिक जिम्मेवारी भएको बताए । परराष्ट्र मन्त्री डा. नारायण खड्काले सार्कको सदस्य राष्ट्रको नाताले अफ्ठ्यारोमा सहयोग गर्नुपर्ने नैतिक जिम्मेजारी ठानेर अफगानिस्तानमा मानवीय सहयोग सामग्री पठाउन लागेको बताएका थिए ।

    नेपालको इतिहासमा यसरी हवाईजहाजमार्फत मानवीय सामग्री लिएर अन्य राष्ट्रलाई सहयोग पठाएको पहिलो पटक हो । मन्त्री खड्काले यस कार्यले नेपालले सदैव सहयोग लिने मात्र होइन, आवश्यक पर्दा अन्य राष्ट्रलाई सहयोग गर्न पनि पछि पर्दैन भन्ने सन्देश गएको बताए । यस कार्यले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि उजागर गर्ने विश्वास व्यक्त गर्दै उनले पूर्णतया निःशुल्क कार्गो उडानमार्फत सहयोग पुर्याएकोमा हिमालय एअरलाइन्सलाई धन्यवाद दिएका थिए । मन्त्री खड्काले अफगानिस्तानलाई मानवीय सहयोग प्रदान गर्ने सो कार्यलाई महत्व दिँदै बिहान सो टोलीलाई बिदाइ गर्न र साँझ स्वागत गर्न स्वयं विमानस्थल पुगेका थिए । रासस

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij