२०८२, श्रावण २० गते

Aug 05 2025 | २०८२, श्रावण २० गते

बुटवलमा निर्माणाधिन पशु बधशाला छिटो सम्पन्न हुनुपर्ने माग 

शुक्रवार , पौष ३०, २०७८

बुटवल, ३० पुस ।
स्वच्छ मासु उपभोक्तालाई उपलब्ध गराउन बुटवलमा निर्माणाधिन बधशाला छिटो सम्पन्न हुनुपर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । अहिले उपभोक्ता उपभोग गरेको मासु पशु विज्ञबाट प्रमाणीकरण नभएको भन्दै स्वच्छ, गुणस्तर र सफा मासुका लागि बुटवल रामनगरमा निर्माणधिन अवस्थामा रहेको बधशाला छिटो सम्पन्न हुनुपर्ने उनीहरुको जोड थियो । 

मासु व्यवसायी संघ रुपन्देहीको ११ औं वार्षिक साधारणसभा तथा छैठो अधिवेशन कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले नयाँ वर्षदेखि बधशाला सञ्चालनमा आउने गरी काम भइरहेको बताए । मेसिन अर्डर भइसकेको र संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको बताउँदै पशु बधशाला निर्माणपछि बुटवलको आर्थिकमा थप ईटा थप्ने काम हुने बताए । खसी र बोका बध गर्ने पहिलो बधशालाको हालसम्म भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ४५ प्रतिशत भएको उनको भनाइ थियो ।

उनले निजी क्षेत्रसंग साझेदारी बधशाला सञ्चालन गर्ने योजना अनुसार मासु व्यवसायीहरुसंग सम्झौता समेत भइसकेको बताए । बधशाला निर्माणपछि किसानले पालेका खसीबोका सिधै व्यवसाय सामु आइपुग्ने भएकाले किसान अब विचौलीयाको मारमा पर्न नपर्ने समेत बताए ।

अधिवेशनमा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष कृष्णप्रसाद पौडेलले बधशाला निर्माणको अन्तिम तयारी रहेको बताउँदै बधशालालाई सञ्चालन गर्न निजी क्षेत्र आतुर रहेको बताए ।  उनले बधशाला सञ्चालनका लागि बुटवल मासु उत्पादन तथा प्रशोधन केन्द्र प्रा.लि. स्थापना भएको भन्दै उक्त कम्पनीमा व्यवसायीहरु जोडिन आग्रह गरे ।

उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनीका अध्यक्ष तेज कुमार पाठकले लामो समयदेखि उपभोक्ता हित संरक्षण मञ्चले उठाउँदै आएको बधशाला निर्माण हुन लागेकोमा खुसी व्यक्त गरे । उनले व्यवसायीलाई स्वच्छकर, गुणस्तर र निरोगी पशुको मासु उपभोक्तालाई उपलब्ध गराउन आग्रह गरे ।  

कार्यक्रममा हेफर ईन्टरनेशनलका कार्यक्रम व्यवस्थापक अनन्त शिलवाल, रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल, कानूनी सल्लाहकार यमलाल खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । संघका वरिष्ठ उपाध्यक्ष मोहन खत्रीको स्वागत तथा महासचिव चुरामणी घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

संघको अध्यक्षमा चुरामणी घिमिरे

मासु व्यवसायी संघ रुपन्देहीको ११ औं वार्षिक साधारणसभा तथा छैठौ अधिवेशनबाट अध्यक्षमा चुरामणी घिमिरे निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा मोहन खत्री, उपाध्यक्षमा मसउद आलम, महासचिवमा विशाल थापा, कोषाध्यक्षमा गोपाल क्षेत्री र सह–कोषाध्यक्षमा ऋषिराम राई भाट निर्वाचित भएको प्रमुख निर्वाचिन अधिकृत यमलाल खनालले बताए ।

IMG-8411.jpg

त्यस्तै सदस्यहरुमा बालप्रसाद श्रेष्ठ, हरि बहादुर कुँवर, अहमद हुसेन, प्रेम राना, रोशन बहादुर खत्री, सुनिता थापा क्षेत्री, विमा थापा, देउती प्रसाद सापकोटा, थानेश्वर पाण्डे, ओम बहादुर थापा, थानेश्वर सुवेदी र तइयव हुसेन निर्वाचित भएका छन् । निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यलाई प्रमुख निर्वाचन अधिकृत यमलाल खनालले सपथग्रहण गराएका थिए ।