
आइतवार , पौष २५, २०७८
भैरहवा, २५ पुस । रुपन्देहीमा ६३ हजार ४ सय ३९ नयाँ मतदाता थपिएका छन् । २०७८ साउनदेखि सुरु भएको फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रम अन्तर्गत जिल्लामा पुस २१ गतेसम्म ६३ हजार ४ सय ३९ नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।
कार्यालयमा अहिले मतदाता नामावली दर्ता गर्ने तथा विवरण सच्याउने कार्य भइरहेको कार्यालयका कम्प्युटर अपरेटर विनोद भट्टराईले बताए । उनले भने, ‘मतदाता नामावलीमा दर्ता गर्नेको घुँइचो लागेको छ, निर्वाचनको मिति घोषणा भएपछि दर्ता कार्य बन्द हुने भएकाले अहिले भीड बढेको हो । ’
सुरक्षाकर्मीसंग समन्वय गरी कार्यालयको काम सञ्चालन भइरहेको भट्टराईले बताए । ‘सुरक्षाकर्मीसंग समन्वय गरेका छौं, उहाँहरुले धेरै सहयोग गर्नुभएको छ, ’उनले भने । कार्यालयमा जनशक्तिको अभाव रहेको उनको भनाइ छ । मतदाता नामावलीमा दर्ता गराउने नागरिकको घुँइचो बढेपछि जनशक्ति थपिएको उनले जानकारी दिए । कार्यालयमा भीड बढेकोले थप जनशक्ति आवश्यक रहेको उनले बताए ।
रुपन्देही जिल्लाको चार स्थान (जिल्ला निर्वाचन कार्यालय रुपन्देही, जिल्ला प्रशासन कार्यालय रुपन्देही, इलाका प्रशासन कार्यालय मझगाँवा र इलाका प्रशासन कार्यालय बुटवल)बाट दैनिक फोटोसहितको मतदाता नामावली संकलन भइरहेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij