बिहिवार , पौष २२, २०७८
सुर्खेत, २२ पुस ।
प्रदेश निर्वाचन कार्यालयले स्थानीयस्तरसम्म मतदाता नामावली सङ्कलन अभियान सञ्चालन गरेपछि सुर्खेतमा १० हजार बढी मतदाता थपिएका छन् ।निर्वाचन आयोगले मङ्सिरदेखि पुस १८ गतेसम्म स्थानीय तहमा सञ्चालन गरेको विशेष अभियानबाट सुर्खेतमा १० हजार ४१४ नयाँ मतदाता थपिएका हुन् ।
प्रदेश निर्वाचन कार्यालय सुर्खेतले विशेष अभियान सकिए पनि जिल्ला प्रशासन, निर्वाचन कार्यालय र इलाका प्रशासनबाट नियमित मतदाता नामावली दर्ता भइरहेको जनाएको छ ।
प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले निर्वाचनको मिति घोषणा नहुञ्जेलसम्म मतदाता नामावली सङ्कलन कार्य चलिरहने हुँदा मतदाता सङ्ख्या अझैं बढ्ने बताए । उनका अनुसार अन्य जिल्लाका एक हजार ६१० जनाले सुर्खेतबाट नामावली दर्ता गराएका छन् । उनीहरुको मतदाता विवरण भने सम्बन्धित जिल्लामै कायम हुनेछ ।
यसअघि सुर्खेतमा दुई लाख १३ हजार मतदाता थिए । निर्वाचन आयोगले स्थानीयस्तरमै जनशक्ति परिचालन गरी पहिलो र दोस्रो चरणको मतदाता नामावली सङ्कलन गर्न विशेष अभियान सञ्चालन गरेको थियो ।
प्रदेश निर्वाचन अधिकारी चालिसेले सुर्खेतका स्थानीय तहमा मङ्सिर १७ देखि पुस २ गतेसम्म पहिलो चरण तथा पुस ४ देखि १८ गतेसम्म दोस्रो चरणको अभियान सञ्चालन गरिएको जानकारी दिए । विशेष अभियानमा छुटेका व्यक्तिले इलाका प्रशासन कार्यालय बाबियाचौर, जिल्ला प्रशासन र निर्वाचन कार्यालयमा नाम दर्ता गराउन सकिने उनको भनाइ छ ।
विशेष अभियानका क्रममा चिङ्गाडमा १९८, चौकुनेमा ६५६, सिम्तामा ४४१ र बराहताल गाउँपालिकामा ५०४ तथा लेकबेँसीमा ९८४, गुर्भाकोटमा एक हजार ४०२ र भेरीगङ्गा नगरपालिकामा दुई हजार ६७ नयाँ मतदाता थपिएका छन् ।
त्यस्तै पञ्चपुरी नगरपालिकाको इलाका प्रशासन कार्यालय बाबियाचौर तथा वीरेन्द्रनगर नगरपालिकाको जिल्ला प्रशासन र प्रदेश निर्वाचन कार्यालयबाटै नामावली सङ्कलन गरिएको थियो ।
जिप्रकाबाट एक हजार ७१४, इलाका प्रशासन कार्यालय बाबियाचौरबाट एक हजार ५४ र प्रदेश निर्वाचन कार्यालयबाट एक हजार २९३ जनाले फोटोसहितको मतदाता नामावली दर्ता गराएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij