२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

ओमसतियामा तीनदिने माघी महोत्सव हुने

बिहिवार , पौष २२, २०७८

भैरहवा, २२ पुस ।
रुपन्देहीको ओमसतिया गाउँपालिका–१ स्थित खुन्सामा तीनदिने दोस्रो माघी महोत्सव हुने भएको छ । थारु डिउहार संरक्षण समितिको आयोजनामा यही पुस २५ देखि २७ गतेसम्म महोत्सव हुने भएको हो ।

महोत्सवबारे जानकारी दिन बुधबार तिलोत्तमा–१६ स्थित बोहिया, कोटिहवामा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष हिरामान थारुले थारु संस्कृतिको संरक्षण गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताए । उनले डिउहार मन्दिर निर्माण कार्यलाई पूर्णता दिन महोत्सवको आयोजना गरिएको बताए । उनले भने, ‘थारु समुदायमा कुनै पनि नयाँ कामको सुरुवात गर्नुअघि डिउहार बाबाको पूजा गरिन्छ, खुन्सा गाउँमा मन्दिर बनाउन सकेका छैनौं, त्यसैले महोत्सवबाट संकलित रकमबाट मन्दिर निर्माण कार्यलाई पूर्णता दिन चाहन्छौ । ’

महोत्सवमा पहिलो दिन निःशुल्क प्रवेश तथा दोस्रो र तेस्रो दिन प्रवेश शुल्क वापत रु. १ सय तोकिएको उनले बताए । महोत्सवमा ३५ वटा स्टल राखिने अध्यक्ष थारुले जानकारी दिए । 

महोत्सवमा थारु परिकार ढिकरी, घोंगी, माछा, चिचिया लगायत राखिने थारु अगुवा सन्तु दंगोरिया थारुले बताए । उनका अनुसार कार्यक्रममा राष्ट्रिय कलाकार अन्नु चौधरी, अञ्जु कस्मी (फूल कुमारी), ममता चौधरी, ममता चौधरी तथा स्थानीय कलाकार उमा चौधरी, डिटी ग्रुप लगायतको प्रस्तुती रहनेछ । कार्यक्रममा थारु सांस्कृतिक नाच पनि हुने उनले बताए । त्यसै गरी खेलकुद कार्यक्रम पनि आयोजना गरिने उनले जानकारी दिए । 

ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट (राहुल)को प्रमुख आतिथ्यतामा उद्घाटन तथा ओमसतिया–३ का वडाअध्यक्ष बेल बहादुर बराल मगरको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम गरिने आयोजकले जनाएका छन् ।