
बिहिवार , पौष २२, २०७८
बुटवल, २२ पुस ।
मानव सेवा आश्रमले आश्रममा रहेका व्यक्तिहरुको नियमित भोजन जुटाउनका लागि आश्रममा भजन सन्ध्या कार्यक्रम सम्पन्न गरेको छ । बुटवलमा रहेको आश्रमले सडकपेटी र सार्वजनिक रूपमा कष्टपूर्ण जीवन बिताउन बाध्य सडक मानवहरुको नियमित रूपमा उद्धार गर्दै आएको छ ।
मानवसेवा आश्रम परोपकारी मनका दाताहरुको निरन्तरको साथ र सहयोग बाट नै सञ्चालन हुँदै आएको हो । आश्रमको निश्चित आम्दानीको श्रोत नभएको कारणले नियमित रूपमा भोजनको लागि आगामी दिनमा समस्या नहोस्, भन्ने हेतुका साथ अहिले १४० जनाको हाराहारीमा सहयोगी दाताहरुको संख्या रहेको छ । सडक मानवहरु दिनानुदिन बढ्दै जाने कारणले गर्दा उनीहरुलाई नियमित भोजन गराउन भविष्यमा कुनै पनि समस्या नहोस् भन्दै १४० सहयोगीको संख्यालाई बढाएर करिब ३६५ सम्म पुर्याउने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको आश्रमले जनाएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश प्रमुख अमिक असहाय दुःखी पीडितहरूको सहयोगार्थ यति पुण्यको काम गर्नु प्रशंसनीय रहेको बताए । उनले कुनै वैदेशिक दातृ निकायको कुनै सहयोग बिना आश्रम सञ्चालन गरेकोमा धन्यवाद दिदै आफू अत्यन्त खुशी भएको र आगामी दिनहरुमा यस्तै किसिमका अत्यन्तै पवित्र सामाजिक काम गर्दै जानका लागि हौसला प्रदान गरे ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै आश्रम निर्माणका परिकल्पनाकार रामजी अधिकारीले देशका हरेक ठाउँमा खुल्ला आकाशमुनि सडकको पेटीमा जीवन बिताउन बाध्य सबैलाई उद्वार गर्नुपर्ने सबैको दायित्व भएको बताए । उनले भने, ‘विशेष गरी सडक जीवन बिताइरहेका वृद्ध अवस्थाका आमाबुवाहरुको पालनपोषणको निमित्त हामी आफैले केही गर्न सक्छौ, हामी कोही पनि जिम्मेवारीबाट टाढा भाग्ने भन्दा पनि जिम्मेवारीलाई साथमा लिनुपर्छ र यस्तो कार्यका लागि हामीले राज्यलाई पनि जवाफदेही बनाउनुपर्छ । ’
उनले थपे, ‘वि.स. २०६९ सालमा मकवानपुरको हेटौंडाबाट सुरुवात भएको आश्रमले वैदेशिक दातृ निकायहरुको सर्तसहितको सहयोग स्वीकार नगर्ने र उच्च शिर बनाएर आदर्शका साथ अगाडी बढेको सम्पूर्ण नेपालीहरुको धेरै थोरै सहयोगमा आश्रमलाई सञ्चालन गर्ने जनाउदै आजको कार्यक्रमबाट अझै धेरै उर्जा प्राप्त भएको छ । जिम्मेवारीपूर्वक अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij