
सोमवार , पौष १९, २०७८
बुटवल, १९ पुस ।
अर्घाखाँची ठुलापोखरा सम्पर्क समाज रूपन्देहीको आयोजना एवं लायन्स क्लब अफ बुटवल कालिकाको सह–आयोजनामा अर्घाखाँचीको छत्रदेव गाउंपालिका–६ ठुलापोखरामा निःशुल्क स्त्री तथा प्रसुती रोग शिविर सम्पन्न भएको छ । सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा) को प्राविधिक सहयोगमा भएको शिबिरमा आम्दा अस्पतालका मेसु डा. राजेन्द्र प्रसाद बस्याल र पूर्व मेसु डा. केशव शर्माले १८० जना महिलाको स्वास्थ्य परिक्षण गरेका थिए । जसमध्ये १० जना जटिल खालका बिरामी पहिचान गरी थप उपचारको लागि रिफर गरिएको थियो ।
शिविरमा स्वास्थ्य परिक्षणसंगै भिडियो एक्सरे र औषधि सबै निःशुल्क सेवा दिइएको कार्यक्रमका संयोजक एवं समाजका उपाध्यक्ष ज्ञानप्रसाद पौडेलले बताए । समाजका अध्यक्ष गणेश प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेल, वडाअध्यक्ष कमल पौडेल, समाजसेवी नारायणप्रसाद भट्टराई लगायतले मन्तव्य राख्दै समाजले गरेको सामाजिक कामको सराहना गरेका थिए ।
टिका बन्जाडेको सञ्चालनमा भएको कार्यक्रममा लायन्स क्लब अफ बुटवल कालिकाका प्रथम उपाध्यक्ष बसन्त पोख्रेल र द्वितीय उपाध्यक्ष दिपकराज पौडेलले आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij