२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

कोभिड संक्रमित ३ जनाको उपचारका क्रममा मृत्यु 

आइतवार , आश्विन २५, २०७७

बुटवल । रुपन्देहीको बुटवल स्थित कोरोना विशेष अस्पतालमा ३ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल १ का ७० वर्षीय पुरुष, बुटवल उपमहानगरपालिका ११ निवासी ८४ वर्षीय पुरुष र ६१ वर्षीया महिला रहेको अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले बताए । 

गत असोज २१ गते अस्पतालमा ल्याई पिसिआर परिक्षण गर्दा पोजेटिभ आएपछि बुटवल ११ की महिलालाई अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो । उनलाई शनिवार बिहान भेन्टिलेटरमा सारिएकामा राति २ बजे मृत्यु भएको डा. थापाले बताए । ती महिलामा कोरोना बाहेक अन्य रोग थिएन ।

असोज २२ गते पिसिआर परिक्षणमा नतिजा पोजेटिभ आई अस्पतालमा भर्ना भएका ७० वर्षीय पुरुषको शनिवार राति ९ : ५५ बजे मृत्यु भएको हो । शनिवार नै भेन्टिलेटरमा सारिएका उनी पुरानो दम रोगी रहेको थापाले जनाए । योसंगै अस्पतालमा मृत्यु हुनेको संख्या २९ पुगेको छ । अस्पतालका १६ आइसियु मा बिरामी भरिएको डा. थापाले बताए ।

उता रुपन्देहीको कुनै पनि अस्पतालमा आईसीयू बेड खालि नहुंदा रुपन्देहीको बुटवल ११ का ८४ वर्षीय पुरुषको दाङको बेलझुण्डी अस्पताल लैजांदै गर्दा बाटोमा मृत्यु भएको छ । शनिवार स्वास्थ्यमा समस्या देखिएर लुम्बिनी प्रादेशिक अस्पताल पुगेका उनको शनिबार नै कोरोना पुष्टि भएको थियो ।

बिरामीको अवस्था जटिल रहेकाले अस्पतालले आईसीयुमा अनिवार्य राख्नुपर्ने बताएपछि उनलाई रिफर गरिएको थियो । रिफर भएका उनलाई दाङ लैजांदै गर्दा धानखोला मा मृत्यु भएको अस्पतालका सुचना अधिकारी डा विष्णु गौतमले बताए ।