images

शुक्रवार, बैशाख १४ गते २०८१

७ करोड बढीको लागतमा भैरहवामा पर्यटकीय गेट

७ करोड बढीको लागतमा भैरहवामा पर्यटकीय गेट

images
images
images
आइतवार, पौष ११ २०७८
आइतवार, पौष ११ २०७८
  • ७ करोड बढीको लागतमा भैरहवामा पर्यटकीय गेट

    भैरहवा, ११ पुस ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाद्वारा निर्मित पर्यटकीय गेटको उद्घाटन गरिएको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ स्थित डण्डा खोला नजिकमा निर्मित गेटको आइतबार एक कार्यक्रमकाबीच प्रतिनिधिसभा सदस्य घनश्याम भुसालले उद्घाटन गरेका छन् ।

    images

    IMG_9228.JPG

    सिद्धार्थनगर नगरपालिकाले डण्डा करिडोरसंग लिंक गरेर पर्यटकीय गेट निर्माण गरेको नगरपालिकाका वरिष्ठ इञ्जिनियर जीवन अर्यालले बताए । वरिष्ठ इञ्जिनियर अर्यालका अनुसार नगरपालिकाको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक नीति तथा कार्यक्रममा पर्यटकीय गेट निर्माण गर्ने गरी कार्यक्रम स्वीकृत भएको थियो । गत २०७५ साल माघ १० गते गेटको प्रतिनिधिसभा सदस्य घनश्याम भुसालले शिलान्यास गरेका थिए । 

    ‘पर्यटकीय गेट दुई चरणमा ठेक्का भएको हो, प्रथम चरणको कार्य २०७५ असार २५ मा सम्झौता भइ २०७७ असार ३० गते सम्पन्न भएको हो भने दोस्रो चरणको काम २०७७ मंसिर ९ गते सम्झौता भइ २०७८ पुस मसान्तसम्म सम्पन्न गर्ने समय रहेको भएता पनि समयमै काम सम्पन्न भएको छ, ’अर्यालले भने । 

    गेटको प्रथम चरणमा २ करोड ४८ लाख ९१ हजार ६ सय ३४ रुपैयाँमा ठेक्का भएको तथा दोस्रो चरणको रु. ४ करोड ४८ लाख ९३ हजार रुपैयाँ र कन्टेन्जेन्सी समेत गरी यो परियोजना ७ करोड ९ लाख २७ हजार रुपैयाँको लागतमा सम्पन्न भएको उनले बताए । प्राकृतिक निर्माण प्रा.लि. सि.न.पा.–९ ले ठेक्का पाइ गेट निर्माण सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।

    गेटमा स्वम्भुको आँखा रहेको हर्मिका गजुर तथा स्तुपा आकार दर्शाउन १३ रिंग राखिएको छ भने १२ वटा रुपका बुद्धका मूर्तिहरु गेटको चारैतर्फबाट राखिएका छन, अर्यालले भने । गेटको चार कुनामा हरियाली बनाउन स्टिलको रेलिङ्ग हालेर वृक्षारोपण गरी फूल लगाइएको उनको भनाइ छ । 

    पर्यटकीय गेटको सडकको सतहदेखि आर्कसम्म १६.८० मिटर, आर्कदेखि माथि गजुरसम्म १४.५ मिटर उचाई तथा कुल उचाई ३१.३० मिटर रहेको छ । ‘गेटलाई आकर्षक बनाउन लाईटिङ्ग सिस्टम राखिएको छ, आर्कलाई डोम र स्तुपाको वास्तुकलामा आधारित भएर डिजाइन गरिएको र बुद्धिष्ट वास्तुकलालाई प्रतिबिम्भ गरेर बनाइएको छ, आँखा भएको स्तुपाले नेपालको स्तुपा हो भन्ने पहिचान गराउँछ, ’उनले भने । बेलहियामा भन्सार अगाडी नेपाल भारतको सीमामा पशुपतिनाथ मन्दिरको स्वरुप झल्किने गरी प्रवेशद्वार निर्माण कार्यको ठेक्का सम्झौता हुने अन्तिम प्रक्रियामा रहेको नगरपालिकाका वरिष्ठ इञ्जिननियर अर्यालले जानकारी दिए ।

    पर्यटकीय गेट उद्घाटन पश्चात बोल्दै प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य घनश्याम भुसालले पर्यटकीय गेट निर्माण कामको हिसाबले ठूलो काम भएको बताए । उनले सिद्धार्थनगरमा शिक्षा, स्वास्थ्य, सडकमा धेरै राम्रो काम काम भएको बताए । ‘ठूलो भौतिक पूर्वाधार निर्माण गरेर मात्रै हुँदैन, मानवीय, वैचारिक, सांस्कृतिक विकास गर्नुपर्छ, ’भुसालले भने । उनले सिद्धार्थनगर अझै रचनात्मक कार्य गर्न बाँकी रहेको बताए । 

    सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले सीमित स्रोतसाधनका बाबजुद विभिन्न योजनाहरु अघि बढाइएको बताए । उनले नगरपालिकाको विकासका लागि हातेमालो गर्दै अगाडी बढ्नुपर्ने बताए । ‘सबैले नगरपालिका मेरो हो भन्ने भावनाका साथ अगाडी बढे सिद्धार्थनगरको विकासमा अझ टेवा पुग्छ, नगरप्रमुख अधिकारीले भने ।

    संविधानसभा सदस्य आदित्यनारायण कसौधनले पर्यटकीय गेटले पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने बताए । उनले विशेष गरी भारतीय पर्यटकलाई आकर्षित गर्नुपर्ने बताए । सिद्धार्थनगर नगरपालिकाले धेरै राम्रो कामहरु गरेको उनको भनाइ थियो ।
    जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले पर्यटन क्षेत्रबाट समृद्धि प्राप्त गर्न सकिने बताए । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले कृषि, पर्यटन, उद्योग र व्यापार मुलुकलाई समृद्ध बनाउने आधार भएको बताए ।
    लुम्बिनी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार मन्त्री सन्तोष कुमार पाण्डेयले विकासका कार्यहरुमा सबैले सहयोग गर्नुपर्ने बताए । तिलोत्तमा नगरपालिका उपप्रमुख जगेश्वरीदेवी चौधरीले सिद्धार्थनगर नगरपालिकाले राम्रो काम गरेको बताइन् ।

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) रुपन्देही जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नम्बर ३ का संयोजक हितराज पन्थीले एमाले नेतृत्वको सरकारले धेरै विकासका कामहरु अगाडी बढाएको बताए ।

    नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटी सदस्य तीर बहादुर रोकाय (डार्बिन)ले पर्यटकीय गेटले ऐतिहासिकता प्राप्त गर्दै जाँदा यसबारे बुझाउन आवश्यक रहेको बताए ।

    जनता समाजवादी पार्टी नेपाल (जसपा) सिद्धार्थनगरका अध्यक्ष रामअवतार यादवले राम्रो काम भए सहयोग तथा विकासविरोधी काम भए विरोध गरिने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका उपाध्यक्ष अजय कुमार गुप्ताले राम्रो काममा पार्टीले असहयोग नगर्ने बताए । समाजसेवी भरत कुमार पोखरेलले सिद्धार्थनगर नगरपालिकाले विकासको क्षेत्रमा महत्वपूर्ण कार्य गरेको बताए ।

    नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले स्थानीय सरकारसंग निजी क्षेत्र साझेदारी गर्न तयार रहेको बताए । जसपा सिद्धार्थनगरका अध्यक्ष अर्जुन प्रसाद जैसवालले हातेमालो गर्दै अगाडी बढ्न आवश्यक रहेको बताए ।
    नेकपा (एकीकृत समाजवादी) सिद्धार्थनगरका अध्यक्ष रामबहादुर बस्नेतले पर्यटकीय गेटको महत्व बुझाउन आवश्यक रहेको बताए । साहित्यकार विजय गोविन्द श्रेष्ठले नगरमा सार्वजनिक शौचालय र ट्राफिक व्यवस्थापन आवश्यक रहेको बताए ।

    लुम्बिनी प्रेस क्लब रुपन्देहीका अध्यक्ष नरेश के.सी.ले यस क्षेत्रको पर्यटकीय विकासका लागि रात्रिकालिन बजार सञ्चालन गर्नुपर्ने बताए । नेपाल एशोसियसन टुर एण्ड ट्राभल्स एजेण्टस् (नाट्टा) लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद अधिकारी (सागर) ले पर्यटकीय गेट निर्माण आफैमा महत्वपूर्ण रहेको बताए ।

    सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्लेको स्वागत तथा नगरपालिकाका सूचना अधिकृत देव प्रसाद ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।



    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij