२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

नेपालका ९ जना दलित अगुवालाई भारतमा सम्मान

मंगलवार , पौष ६, २०७८

भैरहवा, ६ पुस । 
भारतको बाबु जगजीवन राम कला संस्कृति तथा साहित्य एकेडमीले नेपालका ९ जना दलित अगुवाहरुलाई सम्मान गरेको छ । दलित आन्दोलनमा भूमिका खेलेको तथा दलित समुदायको विकासमा निरन्तर पैरवी गर्नेहरुलाई एकेडमीले भारतमा सम्मान गरेको हो ।

गत मंसिर २८ गते भारतको दिल्लीमा रहेको राजेन्द्र भवनमा आयोजित राष्ट्रिय विजय दिवस सम्मेलन–२०२१ मा भारतीय लोकसभाका पूर्वअध्यक्ष मीरा कुमारले सम्मान प्रदान गर्नुभएको नेपाल भारत दलित मैत्री संघका अध्यक्ष ओमप्रकाश विश्वकर्माले बताए ।

कार्यक्रममा राष्ट्रिय दलित आयोगका पूर्व अध्यक्ष तथा पूर्व राष्ट्रियसभा सदस्य बिजुल विश्वकर्मालाई अन्र्तराष्ट्रिय अम्बेडकर पुरस्कार प्रदान गरिएको थियो । भारत र नेपाल मात्र नभइ अन्तर्राष्ट्रियस्तरका दलित आन्दोलन र साहित्य लगायतका विविध क्षेत्रमा योगदान पु¥याउने एक जनालाई यो पुरस्कार प्रदान गरिदै आएको छ । यसपटकको अन्र्तराष्ट्रिय अम्बेडकर पुरस्कार नेपालका बिजुल विश्वकर्माले प्राप्त गरेका हुन् ।

त्यस्तै अम्बेडकर एक्सीलेन्सी पुरस्कार रुपन्देहीका किस्मत विश्वकर्माले प्राप्त गरेका छन् । उनी जनता समाजवादी पार्टी नेपाल (जसपा)का केन्द्रीय सदस्य समेत हुन् । त्यसै गरी अम्बेडकर अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार बाँकेका हेमन्त विश्वकर्मा, ईन्द्रायणीराम अन्तर्राष्ट्रिय पुरस्कार स्याङ्जाकी सरु सुनार र प्युठानकी गोमा सुनार थापाले प्राप्त गर्नुभएको नेपाल भारत दलित मैत्री संघका अध्यक्ष ओम प्रकाश विश्वकर्माले जानकारी दिए ।

अन्य पुरस्कार प्राप्त गर्नेहरुमा अम्बेडकर विशिष्ट समाजसेवा पुरस्कार नेपालगंजका गजाधर विश्वकर्मा, अम्बेडकर समाजसेवा पुरस्कार रेडियो नेपालका पुजन विश्वकर्मा, अम्बेडकर ब्रदरहुड पुरस्कार बाग्लुङ्गका अशोक कुमार विश्वकर्मा, साबीत्रीबाइ फुले र अन्तर्राष्ट्रिय पुरस्कार रुपन्देहीकी सरिता विश्वकर्मालाई प्रदान गरिएको छ ।

नेपाल भारत दलित मैत्री संघले भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी यी सम्मान कार्यक्रबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष ओमप्रकाश विश्वकर्माले भारतका पूर्व उपप्रधानमन्त्री जगजीवन रामको स्मृतिमा स्थापना भएको एकेडमीले प्रत्येक वर्ष अन्तर्राष्ट्रियस्तरमा पुरस्कार वितरण गर्ने गरेको बताए । पुरस्कारको लागी भारत गएको टोलीले भारतका केन्द्रिय मन्त्री रामदास अठावले, भारतमा रहेको नेपाली दुतावास लगायतमा नेपाल र भारतका दलित समुदायको अवस्थाबारे अन्र्तक्रिया समेत गरेको थियो ।

राष्ट्रिय दलित आयोगका पूर्व अध्यक्ष बिजुल विश्वकर्माले नेपालले अझै पनि भारतबाट धेरै कुराहरु सिक्नुपर्ने अवस्था रहेको बताए । उनले भारतमा अहिले दलित समुदायलाई उच्च प्राथमिकता दिए पनि नेपालमा त्यो अवस्था हुन नसकेको जिकिर गरे ।