२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

मगर चलचित्र माराङ प्रदर्शनमा 

शुक्रवार , मंसिर २४, २०७८

बुटवल, २४ मंसिर । 
मगर संस्कृतिमा आधारित चलचित्र माराङ (खुशी) बुटवलमा प्रदर्शन हुने भएको छ । तुलजी सारु मगरले निर्माण गरेको चलचित्र माराङ बुटवलको कालिका फिल्महलमा शुक्रबार दिउँसो साढे २ बजे र शनिबार बिहान साढे ९ बजे प्रदर्शनमा आउने भएको हो । 

लोप हुन लागेको मगर संस्कृतिलाई जोडेर चलचित्र निर्माण गरिएको निर्माता सारुले बताए । माराङको एउटा गित अहिले युटुयुबमा हिट भइसकेको तथा चलचित्रले पनि दर्शकको मन जित्न सफल हुने बताए । चलचित्रले मगर जस्तोसुकै अवस्थामा पनि खुशी हुन सक्छ है भन्ने देखाउन खोजेको बताउँदै  चलचित्रको नाम जस्तै चलचित्र हेरेपछि दर्शक पनि खुशी हुने सारुले दावी गरे ।

२ वर्षअघि चलचित्रको निर्माण भएको र कोरोना भाइरस संक्रमणका कारण चलचित्र प्रर्दशनमा ल्याउन नसकिएको निर्माताले बताएका छन् । पहिलोपटक बुटवलमा चलचित्र प्रर्दशनमा ल्याइएको सारुले बताए । चलचित्र मगर भाषामा भए पनि सब टाईटल नेपाली भाषामा रहेको बताए ।

६० लाखको लगानीमा चलचित्र निर्माण गरिएको उनले बताए । चलचित्रका निर्देशक बुद्धया सुनारीले पाल्पाको निस्दी गाउँपालिका र तनहँुको मगरबस्तीमा पुगेर चलचित्र छायांकन गरिएको जानकारी दिए  ।

प्रेममा आधारित चलचित्र भएपनि मगर संस्कृति संरक्षणको लागि युवाले देखाएको चासोको विषयलाई चलचित्रमा जोडिएको र स्थान पनि सोही अनुसार छनौंट गरिएको उनले बताए ।

मगर भाषा चलचित्रका जानकार संजोग लाफाले अहिलेसम्म एक सय वटा मगर भाषामा आधारित चलचित्र बने पनि बलिउडको कपि जस्तै भएको बताए । माराङ चलचित्र भने मगर चलचित्र बनेको दावी गरे ।

चलचित्रका कार्यकारी निर्माता समेत रहेका लाफाले अहिल बनेका मगर भाषाका चलचित्र भन्दा माराङ धेरै माथि रहेको र आधुनिक प्रविधिको सक्दो प्रयोग भएकाले दर्शकको मन जित्न सफल हुने बताए । मगर चलचित्र बनेपछि बल्ल मगर भेषभुषामा मगरहरुको चासो बढ्दै गएको बताए । 

आदिवासी जनजाती महासंघ रुपन्देहीका अध्यक्ष शंकर गाहा मगरले चलचित्र समाजको ऐना भएको बताउँदै समाजको जल्दोबल्दो समस्या उठाउन सक्नुपर्ने बताए । ९० मिनेटको चलचित्रमा रमेश बाबु थापा, सिर्जना मश्रांगी मगर, टिका थापा, गणेश घले र टेक रानाको अभिनय छ ।