२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

लुम्बिनी प्रदेश अधिवेशनको नतिजाले खाँण चेपुवामा, भण्डारीलाई प्रोत्साहन

बिहिवार , मंसिर २३, २०७८

बुटवल, २३ मंसिर ।
नेपाली काँग्रेसको महाधिवेशन अन्तरगत वडा, पालिका, जिल्ला हुँदै प्रदेश अधिवेशन सम्पन्न भइसकेको छन् । कांग्रेसको केन्द्रिय महाधिवेशन नजिकिदै गर्दा लुम्बिनीबाट केन्द्रिय समितिमा बस्न धेरेले आकांक्षा व्यक्त गर्न थालेका छन् । संस्थापन पक्ष र ईतर पक्ष गरी २ पक्षका नेताहरुले आफ्नो आन्तरिक प्रचार प्रचार सुरु गरेका छन् ।

वडामा व्यवस्थापन गर्न नसकेकालाई नगरमा, नगरमा नसकेकालाई क्षेत्रमा, क्षेत्रमा नसकेकालाई जिल्लामा, जिल्लामा नसकेकालाई केन्द्रमा समेट्ने भन्दै सबै व्यवस्थापन गरेका नेतालाई व्यवस्थापन गर्न भने गाह्रो हुने देखिएको छ ।

१२ जिल्लाका नेताहरु केन्द्रीय समितिमा उम्मेदवार दिन आफ्ना निकटस्थहरुसंग छलफल र केन्द्रमा लबिङमा सक्रिय भएका छन् । वडा, नगर, पालिका, जिल्ला र प्रदेश अधिवेशनमा नेपाली कांग्रेसले २ प्यानल बनाएर निर्वाचनमा गएको थियो । केन्द्रीय समितिमा पनि संस्थापन पक्ष र संस्थापन इतर पक्षबीच मुख्यतः प्रतिष्पर्धा हुने पक्का छ ।

चेपुवामा बालकृष्ण खाँण

संस्थापन पक्षका नेता एवं गृहमन्त्री बालकृष्ण खाँण आफ्नो पक्षका नेतालाई प्रदेश नेतृत्वमा ल्याएर महामन्त्रीको बलियो दाबेदार हुने भए पनि उनी निकटका उम्मेदवारले हार्दा चेपुवामा पर्ने सम्भावना देखिएको हो ।

पछिल्लो समय खाँण संस्थापन पक्षका कमजोर उम्मेदवार मानिएका छन् । लुम्बिनी प्रदेश सभापतिमा संस्थापन पक्षका उम्मेदवारलाई खाँणले विजयी गराउन नसक्नु उनको कमजोरी देखिएको छ । महामन्त्रीमा आकांक्षीहरूको भीडका बीच उनी च्यापिने जोखिम उत्तिकै छ । अन्य प्रदेशको नेतृत्व संस्थापनको पक्षमा परेको बेला लुम्बिनीबाट गुम्नु खाँणको लागि चुनौती बनेको छ ।

पार्टी महाधिवेशनमा पद मिलाउनकै लागि गृह मन्त्री बनाएर सरकारमा लगेको चर्चाबीच महामन्त्रीका लागि उम्मेदवार मिलाउन सकस परेको बेला उनी चेपुवामा पर्ने जोखिम देखिन्छ ।

बलियो बने चन्द्र भण्डारी

कांग्रेस लुम्बिनीका प्रभावशाली नेता चन्द्र भण्डारी संस्थापनइतरका हुन् । गुल्मीका भण्डारीले उपसभापतिमा दावी गरिरहेका छन् । उनले आफू सभापतिको दाबेदार भए पनि आफ्ना सिनियर नेताहरूलाई अघि सारेर उपसभापतिमा उम्मेदवारी दिन लागेको प्रतिक्रिया दिएका छन् । कांग्रेसलाई कांग्रेस जस्तो बनाउन आफ्नो उम्मेदवारी रहने उनले बताएका छन् ।

हालै सम्पन्न प्रदेश अधिवेशनमा संस्थापनइतरपक्षले लुम्बिनी प्रदेशको जिम्मा भण्डारीलाई दिएको थियो । भण्डारीले अगुवाई गरेकै नेता अमर पुन प्रदेशमा विजयी पनि भए । यसले उनलाई पार्टीभित्र फाइदा पुग्ने देखिन्छ ।

यसअघि दोस्रो संविधानसभाको निर्वाचनमा एमाले नेता प्रदीप ज्ञवालीलाई हराएर भण्डारी चर्चामा आएका थिए । सभापति देउवासहित संस्थापन पक्षको विपक्षमा खुलेर बोल्ने उनी संस्थापनइतर पक्षबाट उपसभापतिको प्रमुख दाबेदार हुन् । तर उपसभापतिमा संस्थापनइतर भित्रै आधा दर्जन बढी आकांक्षी छन् । सभापतिका आकांक्षीहरूलाई मनाउन उपसभापति दिने सम्भावना छ । त्यो बेलामा उनको दाबेदारी कमजोर हुने जोखिम भने देखिन्छ ।