२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

एमाले महाधिवेशन : १९ पदाधिकारीमध्ये ७ जना लुम्बिनीबाट

बुधवार , मंसिर १५, २०७८

भैरहवा, १५ मंसिर ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को चितवनमा सम्पन्न १० औं राष्ट्रिय महाधिवेशनबाट १९ जना पदाधिकारीमध्ये ७ जना लुम्बिनी प्रदेशबाट निर्वाचित भएका छन् । उपाध्यक्षमा दाङका युवराज ज्ञवाली र रुपन्देहीका विष्णु प्रसाद पौडेल निर्वाचित भएका छन् । ज्ञवाली बुटवलमा सम्पन्न ९ औं राष्टिय महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका थिए । त्यस्तै पौडेल उपमहासचिवमा निर्वाचित भएका थिए । पौडेल एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को महासचिवको जिम्मेवारी सम्हालेका थिए ।

उपाध्यक्षमा रुपन्देहीका घनश्याम भुसाल भने पराजित भएका छन् । भुसाल यस अघि शंकर पोखरेललाई पराजित गर्दै उपमहासचिवमा निर्वाचित भएका थिए ।

त्यस्तै दाङका शंकर पोखरेल महासचिवमा निर्विरोध निर्वाचित भएका छन् । पोखरेल लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री समेत हुन् ।

उपमहासचिवमा गुल्मीका प्रदीप ज्ञवाली निर्विरोध निर्वाचित भएका छन् । ज्ञवालीले यस अघि एमालेको सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

त्यसै गरी सचिवमा गुल्मीका गोकर्ण विष्ट, अर्घाखाँचीका टोप बहादुर रायमाझी र रुपन्देहीका छबिलाल विश्वकर्मा निर्वाचित भएका छन् । विष्ट यस अघि सचिवमा निर्वाचित भएका थिए । रायमाझी यस अघि माओवादी केन्द्रमा थिए ।