२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

प्रदेशसभा बैठकमा मन्त्रीको निर्देशन : विरोधीलाई घिच्याएर निकालिहाल्नुस्

सोमवार , आश्विन १९, २०७७

रुपन्देही, १९ असोज ।
प्रदेश ५ को सोमबारको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले आफ्नो छेउमा उभिएका मर्यादापालकलाई विरोध गरिरहेका सांसदहरुलाई घिच्याएर बाहिर निकाल्न निर्देशन दिएका छन् ।

स्थायी राजधानी र नामको प्रस्तावमाथि उठेको प्रश्नको जवाफ दिने क्रममा रोस्टममा पुगेका केसीले यस्तो निर्देशन दिएका हुन् । पूर्वमाओवादीको जनमुक्ति सेनाका कमिसार समेत रहेका केसीले नेता भन्दा धेरै सैन्यशैलीमा मर्यादापालकलाई निर्देशन दिएका हुन् ।

केसीले रोस्टमा उभिएर प्रश्नको जवाफ दिन लागेका थिए । विरोधीले औंला उठाएर विरोध गरी नै रहे । उनले बोलेको भन्दा विरोधको स्वर सुनिएपछि केसी रिसाएका थिए । त्यसपछि आफ्नो छेउमा उभिएका मर्यादापालकलाई हेलो हेलो भन्दै औंलाले बोलाए । विरोधीतिर संकेत गर्दै केसीले तिनीहरुलाई घिसारेर बाहिर निकाल्न निर्देशन दिए । केसीले बोलेका शब्द प्रदेशसभा बैठकको प्रत्यक्ष प्रशारणका क्रममा पनि स्पष्ट सुनिएको थियो ।

कांग्रेसका सांसदहरुलाई मर्यादापालकले चारैतिर घेरेर राखेका थिए । केसीले बोल्ने क्रममा कांग्रेस सांसदले झन चर्को स्वरमा विरोध गर्न थालेपछि उनी झन् चर्किएर बोलेका थिए । तर, कांग्रेसले बैठकको समय भर नाराबाजी गरेरै बिताएको थियो ।