
मंगलवार , श्रावण ६, २०७७
बुटवल ४ साउन । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्ड आज पनि अबरुद्ध बनेको छ । बुटवल–तानसेन सडकखण्ड तअन्तर्गत तल्लो डुम्रे नजिकै खसेको पहिरोका कारण तेस्रो दिन पनि सडक अवरुद्ध बनेको हो ।
तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै शुक्रबार राति खसेको पहिरो शनिबार दिनभर दुईवटा एक्साभेटर प्रयोग गरेर काम गर्दा पनि पन्छाउन सकिएन । सडकको ६० मिटर क्षेत्रमा झरेको पहिरो ५० प्रतिशत मात्र पन्छाएर सकिएको र आइतबार वर्षा नभए साँझसम्म सडक खुल्ने जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए ।
उक्त स्थानमा एक हप्तादेखि खसिरहेको पहिरो शुक्रबार राति ठूलो मात्रामा खस्दा पहिरोले लु १ क ११७५ नम्बरको ट्रकसमेत पुरेको थियो । शनिबार पहिरो पन्छाएर ट्रक निकालिएको छ । सडकमा दुई सय मिटर माथिदेखि ढुंगा, गिट्टीसहितको पहिरो खसेको छ ।
पहिरो पन्छाउन बुटवलतर्फ र पाल्पातर्फबाट दुई वटा एक्साभेटर र एउटा लोडरले काम गरिरहेका डीएसपी गिरीले बताए । सडक अवरुद्ध हुंदा बुटवलबाट पाल्पा हुँदै गुल्मी, अर्घाखाँची, स्याङजा, कास्की, बागलुङ, पर्वतलगायतका जिल्लातर्फ जान हिँडेका र उताबाट बुटवलतर्फ आउन लागेका सयौं सवारी साधन र यात्रु सडकमै अलपत्र परेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij