आइतवार , कार्तिक १५, २०८३
काठमाडौं, १५ कार्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहकोे नेतृत्व गर्न सक्ने अवस्था नरहेको टिप्पणी गर्नुभएको छ । रवि लामिछाने प्राविधिक रुपमा बालेन्द्र शाहको सभापति रहे तापनि बालेन्द्र शाहलाई निर्देशन दिने र सरकारले गलत गर्दा सरकारलाई सही ट्रयाकमा ल्याउन रास्वपा सफल नदेखिएको उहाँको भनाइ छ ।
बस्नेतले भन्नुभयो–‘प्रधानमन्त्री शाहले संसदमै विवादास्पद र राष्ट्रघाती अभिव्यक्ति दिए । नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाए । विद्यार्थी संगठन र कर्मचारी ट्रेड युनियन खारेज गर्ने र सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णय गरे । निजी शिक्षा तथा स्वास्थ्य सेवामा कर लगाए । गृहमन्त्री सुुधन गुरुङमाथि छानबिनको प्रतिवेदन सार्वजनिक नगरी पुनः गृहमन्त्रीमा पुनर्बहाली भए । रास्वपा र रवि लामिछाने केबल मुकदर्शक बने।’
रास्वपा र रवि लामिछानेले बालेन्द्र शाह नेतृत्वको सरकारको बचाउ र समर्थनबाहेक केही गर्न नसक्ने उहाँको दावी छ। ‘बालेन्द्र शाह जे गर्छन् र जे बोल्छन् त्यो रास्वपा र रवि लामिछानेले स्वीकार गर्नुको विकल्प छैन,’ उहाँले भन्नुभयो ।
हालै पत्रकारमाथि भएको धरपकडबारे रास्वपाले छानबिन गर्न सरकारलाई दिएको निर्देशनको कुनै औचित्य नरहेको भन्दै उहाँले भन्नुभयो–‘सरकार रास्वपाले चलाएकै छैन ।’
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
