२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

महाधिवेशनमा १५०० बढी सहभागि गराउने एमाले सिद्धार्थनगरको निर्णय

बिहिवार , मंसिर २, २०७८

भैरहवा, २ मंसिर ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिद्धार्थनगर नगर कमिटीको पूर्ण बैठक बिहीबार भैरहवामा सम्पन्न भएको छ । नगर कमिटीका अध्यक्ष चक्र बहादुर थापाको अध्यक्षता, उपाध्यक्ष अर्जुन कुमार गिरीको स्वागत तथा सचिव नारायण प्रसाद भण्डारीको सञ्चालनमा सम्पन्न बैठकले विभिन्न निर्णय गरेको छ ।

बैठकले यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने एमालेको राष्ट्रिय महाधिवेशन अन्तर्गत खुला सत्रमा सिद्धार्थनगरबाट १ हजार ५ बढीको सहभागिता गराउने निर्णय गरेको छ । 

एमाले सिद्धार्थनगरको १३ वटै वडा कमिटीको बैठक मंसिर ४ गतेसम्म सम्पन्न गर्न र मंसिर ७ गतेसम्म महाधिवेशनमा जाने पार्टीका सदस्य, शुभचिन्तक तथा शुभेच्छुकहरुको नामावली नगर कमिटीलाई उपलब्ध गराउनुपर्ने बैठकले निर्णय गरेको नगर अध्यक्ष चक्र बहादुर थापाले बताए । एमालेको राष्ट्रिय महाधिवेशनलाई सफल बनाउन सिद्धार्थनगर नगर कमिटी लागिपरेको थापाले बताए ।

बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि एमालेका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज दधिराम न्यौपानेले देशी–विदेशी शक्तिले एमालेलाई कमजोर बनाउने चलखेल गरे पनि त्यसलाई निस्तेज पार्ने दावी गरे । उनले अन्य पार्टीका नेता कार्यकर्ता एमालेमा गोलबन्द भइरहेको बताए । ‘पार्टीको १० औं राष्ट्रिय महाधिवेशन नजिक आइसकेको छ, यसलाई सफल बनाउनु हामी सबैको जिम्मेवारी हो, ’उनले भने ।

पार्टीका केन्द्रीय कमिटी सदस्य, रुपन्देही जिल्ला सह–इञ्चार्ज तथा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले एमालेको शक्ति आगामी १० औं राष्ट्रिय महाधिवेशनमा देखिने बताए ।

एमाले केन्द्रीय निर्वाचन आयोग सदस्य भरत कुमार पोखरेलले रुपन्देही क्षेत्र नम्बर ३ मा महाधिवेशन प्रतिनिधि छनौट सफलतापूर्वक सम्पन्न भएको बताए । एमाले रुपन्देही जिल्ला कमिटी अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले सिंगो राष्ट्र एमालेमय बनेको बताए । उनले श्रमजीवी, प्रगतिशिल, देशभक्त जनताको आधारमा पार्टी अडिएको बताए ।

पार्टीका लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य विश्वराज बराल (अनुप)ले एकताबद्ध भएर अगाडी बढ्नुपर्ने बताए ।

एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य राजेन्द्र प्रसाद पन्थी, लक्ष्मी कोइराला (भावना), रुपन्देही जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नम्बर ३ का संयोजक हितराज पन्थी, जिल्ला सचिवालय सदस्य चोपलाल आचार्य, जिल्ला कमिटी सदस्य जीवलाल अर्यालले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनलाई ऐतिहासिक, सफल र एकताको महाधिवेशन बनाउनुपर्ने बताए ।